मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- मेष राशिलाई कर्म र भाग्य भावमा बृहस्पतिको अनुकूल प्रभावले यो वर्ष विभिन्न अवसर प्राप्त हुनेछन्। कर्मयोगबाट उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ। यही वर्ष सन्तानसुखको योग समेत रहेको छ। कर्मभावमा शनिको उपस्थितिले कर्मक्षेत्रमा सक्रिय प्रभाव जमाउन बाधा पर्नेछ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ भने आलस्य र ढिलासुस्तीले काममा पछि परिनेछ। वर्षको उत्तरार्धमा राहुको प्रतिकूल प्रभावले वाणी तथा लेखनद्वारा व्यक्त विषय विवादास्पद बन्न सक्छ। असंयम बोली–व्यवहारले शुभचिन्तकहरू टाढिनुका साथै समाजमा आलोचित भइने सम्भावना देखिन्छ। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या पनि देखा पर्नेछन्। केतुको प्रभावले कब्जियत, शूल र चोटपटक जस्ता बाधा निम्त्याउन सक्छ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा समस्याबाट छुटकारा मिल्नेछ। वटुक भैरव, छिन्नमस्ता र हनुमानजीको पूजा–आराधना गर्दा राहु र केतुजन्य दोषमा कमी आई फाइदा हुनेछ। तुलनात्मक रूपमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा विशेष अर्थलाभ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) :- वृष राशिलाई यो वर्षको प्रारम्भिक र अन्तिम समय उत्साहजनक र उपलब्धिमूलक हुनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। अध्ययनले नयाँ गति लिनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनेछ। र, मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। भाग्यले मनमिल्ने प्रेमपात्र जुराउनुका साथै गृहस्थीको बलियो जग बस्नेछ। सन्तानका माध्यमबाट सुख प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको अवसर प्राप्त हुनेछ भने स्वदेश फर्किनेहरूलाई उपयुक्त वातावरण बन्नेछ। तर, श्रावणदेखि कार्तिकसम्म भने बृहस्पति र शनि कष्टभावमा जानाले काम रोकिनुका साथै लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। व्यावहारिक समस्या सुल्झाउन ऋणको बोझ उठाउनुपर्नेछ। प्रतिकूल स्वास्थ्यका बाबजुद कामको चाप बढ्नेछ। अध्ययनमा समय दिन नसकिएला। बौद्धिक सम्पत्तिबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मीयजनसँग बिछोडिनुपर्दा मन व्यथित हुनेछ। राहु प्रतिकूल हुनाले केही परिबन्धको घेरामा परिएला। वर्षको पूर्वार्धमा धनहानि र उत्तरार्धमा मानहानि हुन सक्छ। आलोचक बढ्नेछन् भने शुभचिन्तकहरू टाढिन सक्छन्। केतुको प्रभावले सुरुमा स्वास्थ्यबाधा र उत्तरार्धमा पारिवारिक समस्या निम्त्याउन सक्छ। तापनि मंसिरदेखि पुनः भाग्योदयका साथ जीवनको उज्यालो पक्ष प्रारम्भ हुनेछ। शनिदोष निवारणका लागि कालीको पूजा र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले, बृहस्पतिका लागि बगलामुखी र शिवजीको पूजा गर्नाले र राहु–केतुको शान्तिका लागि वटुकभैरवको पूजा गर्नाले लाभ हुनेछ। आफ्ना इष्टदेवको पूजा–आराधना गर्दा पनि फाइदै हुनेछ। साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष फाइदा हुनेछ भने वैशाख, जेठ, भदौ र पौष महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन्।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- मिथुन राशिलाई यो वर्ष अवसर र चुनौतीका शृंखला दोहोरिने हुँदा व्यावहारिक समस्यासँग जुध्नुपर्नेछ। असारसम्म कष्टभावमा शनि र बृहस्पतिको उपस्थितिले अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा हानि र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान आउन सक्छन्। मस्तिष्कमा राहुको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति बढ्ने देखिन्छ। श्रावणदेखि बृहस्पतिको अनुकूल स्थानान्तरणले रोकिएका काम बन्नुका साथै जीवनशैलीमा उल्लेख्य सुधार आउनेछ। अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। भाग्यले प्रेमपात्र जुराउनेछ भने प्रेम सम्बन्ध वैवाहिक मार्गतर्फ अघि बढ्नेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ। यतिबेलाको मिहिनेतले वर्षभरि फाइदा दिनेछ। व्यापार–व्यवसायमा सुधार आउनेछ। समाजसेवा एवं परोपकारी काममा मन जानेछ। यसबीचमा शनिको पनि स्थानान्तरण हुनाले धेरै अवरोध हट्नेछन्। तर राहु खर्चभावमा जानाले असोजदेखि फजुल खर्च वा धनहानि हुने देखिन्छ। मंसिरदेखि बृहस्पति र शनि सुरुकै स्थानमा फर्किने हुनाले आसलाग्दो परिवेशबाट अवरोहण हुँदै पुनः उतारचढावको अवस्था आउन सक्छ। जन्मकुण्डलीमा शनि र राहु प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइरहनेछन्। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन सम्बद्ध ग्रहहरूको पूजा, जप, अनुष्ठान गर्न सकिन्छ। शनिका लागि काली र हनुमानको आराधनाका साथै शनिवार पीपलमा जल चढाउनाले, बृहस्पतिका लागि बगलामुखी र शिवजीको उपासना गर्नाले, राहु र केतुका लागि वटुकभैरवको पूजा गर्नाले फाइदा हुनेछ। आर्थिक रूपमा वैशाख, भदौ, मंसिर र चैत महिना बढी फाइदाजनक रहनेछन्।
कर्कट -( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- कर्कट राशिलाई यो वर्ष उत्साहजनक प्रारम्भिक परिवेशबाट बीचमा केही अवरोहण भए पनि उत्तरार्धमा सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। गृहस्थी भावमा बृहस्पतिको उपस्थितिले वर्षारम्भदेखि नै विभिन्न अवसर प्राप्त हुनेछन्। पढाइलेखाइ सामान्य रहे पनि नतिजाले उत्साह जगाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। यो वर्ष भाग्यले प्रेमपात्र जुराउनेछ। घर–गृहस्थी र सन्तान सुखको भागीदार भइनेछ। र, जीवनशैलीमा परिवर्तन आउनेछ। देवगुरुका साथमा शनिको समेत युतिसम्बन्ध रहेकाले जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई घर–गृहस्थीमा केही बाधाहरू आउनेछन्। पतिपत्नीमा असमझदारी, जीवनसाथीको स्वास्थ्यमा कमजोरी, काममा ढिलासुस्ती, आर्थिक मन्दी, घरजग्गा बन्धकी जस्ता समस्या आउन सक्छन्। श्रावणदेखि कार्तिकसम्म दुवै ग्रह शत्रुभावमा जाने हुँदा खर्च बढ्नेछ। रोग र शत्रु भने परास्त हुनेछन्। व्यापारमा साझेदारी विखण्डित हुनाले एकल अवधारणातर्फ अग्रसर भइनेछ। राहुको प्रभावले भदौसम्म फजुल खर्च, जरिवाना र नोक्सानीको भागीदार बन्नुपरे पनि असोजदेखि आयभाव संवर्धन गर्ने हुँदा वर्षको उत्तरार्ध विशेष फलदायी हुनेछ। मंसिरदेखि सुखसमृद्धि बढ्नुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ। भदौसम्म राहु प्रतिकूल रहने हुँदा वटुक भैरव र छिन्नमस्ताको पूजा गर्नुहोला। शनिको दुष्प्रभावलाई शान्त पार्न वर्षभरि कालीभगवती र हनुमानजीको आराधना गर्नुपर्नेछ। आफ्ना इष्टदेवको आराधनाले पनि मनोबल उच्च हुनेछ। यो वर्ष वैशाख, जेठ, असोज र पुस महिना विशेष लाभदायक हुनेछन्। असार, साउन, कार्तिक र फागुनमा केही हानि हुनेछ।
सिंह - ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- सिंह राशिलाई परिस्थितिस“ग केही सम्झौता गर्नुपरे पनि यो वर्ष विशेष फलदायी रहनेछ। प्रारम्भमा शनि र राहु अनुकूल हुनाले विभिन्न अवसरले पछ्याउनेछन्। उद्योग, व्यापार र नोकरीमा विशेष फाइदा हुनेछ। कृषि र पशुपालनमा पनि राम्रो फाइदा हुनेछ। आफ्नो क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न सकिनेछ। श्रावणदेखि गुरुको अनुकूलताले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। नोकरीमा प्रवेश वा पदोन्नतिको समेत योग छ। व्यापार तथा अध्ययनका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् र साझेदारीले उचाइमा पुर्याउनेछ। यो वर्ष विशेष मित्रता प्रेममा र प्रेमसम्बन्ध दाम्पत्यमा रूपान्तरित हुने बलियो सम्भावना छ। सन्ततिका माध्यमबाट परिवारमा सुख–समृद्धि बढ्नेछ। अर्थ उपार्जनका विभिन्न स्रोत जुट्नेछन् भने आवास, भूमि तथा सवारीसुख प्राप्त हुने समय छ। मिहिनेतले प्रतिष्ठित स्थान दिलाउनुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ। असोजदेखि कर्मस्थानमा राहुको प्रभावले काम, क्रोध, लोभ, मोह जस्ता भावले प्रश्रय पाउनेछन्। हृदयभावमा केतुको उपस्थितिले मनोविकार निम्त्याउने हुँदा परिस्थितिले विवादास्पद भूमिकामा अवतरण गराउन सक्छ। सामान्य कमजोरीले परिवार र समाजमा आलोचित भइने र प्रतिष्ठामा बाधा पुग्ने सम्भवाना छ। प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मन विकाररहित हुनेछ र सम्भावित समस्या टर्नेछन्। राहु र केतुजन्य कर्मदोष निवारण गर्न वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नुहोला। जेठ, असार, कात्तिक र माघ महिना लाभदायक रहनेछन् भने साउन, भदौ, मंसिर र चैत महिना अलि प्रतिकूल रहनेछन्।
कन्या - (टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) :- कन्या राशिलाई यो वर्ष उत्साहजनक रहनेछ। बीचमा केही संघर्षमय परिस्थिति आए पनि उत्तरार्धमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। वर्षारम्भदेखि असारसम्म र मंसिरपछिका महिनामा बृहस्पति विद्याभावमा रहने हुँदा विद्यार्थीहरूका लागि उत्साहजनक अवसर प्राप्त हुनेछ। बौद्धिक क्षमताले सम्मानित स्थान दिलाउन सक्छ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुने सम्भावना छ। उचित प्रेमप्रात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ। सन्तानसुख समेत प्राप्त गर्ने योग रहेको छ। धार्मिक मनोवृत्ति बढ्नेछ। श्रावणदेखि कार्तिकसम्म गृहभावमा बृहस्पति र शनि एकसाथ रहने हुँदा घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला। शनिको प्रभावले मन अशान्त रहनेछ भने सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइनेछ। भदौसम्म कर्मभावमा राहुको उपस्थितिले विद्रोहीहरूको दबाब र झमेला निम्त्याउने देखिन्छ। व्यक्तिगत र सामाजिक अनुशासन पालना नगर्दा स्वास्थ्यबाधा र कर्मबन्धनका उल्झनले सताउनेछन्। जन्मकुण्डलीमा शनि–राहु प्रतिकूल हुनेहरूलाई सदाचारमा नरहँदा आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुचि, कार्यबाधा र अर्थहानि जस्ता समस्या आउनेछन्। सदाचारी र कर्मयोगीहरूलाई भने यो वर्ष अत्यन्त शुभफलदायी रहनेछ। मिहिनेतले वर्षको उत्तरार्धमा सफलताको उचाइमा पुर्याउन सक्छ। विभिन्न उपलब्धि र भौतिक साधन प्राप्त हुनेछन्। प्रतिकूल ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा फाइदा भइरहनेछ। काली भगवती र वटुकभैरवको पूजा गर्दा शनि र राहुको दोष शमन हुनेछ। विशेष काम असार, मंसिर र फागुन महिनामा सम्पादन हुनेछन्।
तुला - ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- तुला राशिलाई यो वर्ष केही उतारचढावमय रहनेछ। श्रावणदेखि मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर भइनेछ भने मंसिरदेखि पुनः सुरुको अवस्थामा अवतरित भइनेछ। हृदयभावका बृहस्पति र शनिको प्रभावले वर्षारम्भदेखि नै चुनौतीपूर्ण जिम्मेवारी अँगाल्नुपर्ने देखिन्छ। शनिको अढैया प्रभावसमेत रहने हुँदा घर र मन अशान्त रहनेछन्। आफन्तमा मतभेद, सगोल र साझेदारीमा समस्या, घरेलु द्वन्द्व जस्ता विघ्नबाधा आउने देखिएकाले समयमा सावधान रहनुहोला। साउन लागेपछि समस्या चुलिए पनि अन्तिम सातातिर समाधान निस्कनेछ। बृहस्पति र शनिको अनुकूल स्थानान्तरणले भदौदेखि परिस्थिति सामान्य बन्नेछ। प्रयत्न गर्दा कार्तिकसम्ममा घेरै समस्या सुल्झाउन सकिनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो सफलता मिल्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार बनाउन सक्छ। व्यवसायमा उतारचढाव आए पनि मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ। कृषि तथा पशुपालनमा सामान्य फाइदा भइरहनेछ। टाढिएका सन्तानहरूलाई माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ। वर्षको उत्तरार्ध लागेपछि भाग्यले प्रेमपात्र जुराउनुका साथै वैवाहिक मार्गतिर अग्रसर गराउन सक्छ। भदौ २५ देखि कष्टभावमा राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा, चोटपटक र अर्थहानि जस्ता समस्या देखापर्न सक्छन्। स्वास्थ्य, आफ्नो उपलब्धि र भोगाधिकारलाई जोगाइराख्न पनि विशेष सजगता अपनाउनुपर्नेछ। यो वर्ष शनि र राहुको विशेष शान्ति गर्नुहोला। पीपलमा शनिबार जल चढाउनाले, काली भगवती र हनुमानजीको पूजा–आराधना गर्नाले शनिको अढैया दोष निवारण हुनेछ। वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्दा राहुसम्बद्ध बाधा हट्नेछन्। साउन, भदौ, पुस र चैत महिना तुला राशिलाई विशेष फलदायी रहनेछन्।
वृश्चिक - ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- वृश्चिक राशिलाई यो वर्ष आसलाग्दो मध्यम परिवेशबाट उत्साहजनक प्रगतिका साथ उत्तरार्धमा विशेष उपलब्धि प्राप्त गर्न सफलता मिल्नेछ। बृहस्पतिको अनुकूलताले विद्यार्थीहरूलाई विशेष फाइदा हुनेछ। राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ। मिहिनेतीहरूलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। भाग्यले घरजग्गालगायत स्थायी सम्पत्ति दिलाउन सक्छ। उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ। जन्मकुण्डलीमा प्रतिकूल शनि हुनेहरूलाई भदौदेखि कार्तिकसम्म अध्ययनमा बाधा र आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। यसबीचमा काममा अवरोध, तीव्र आलोचना, परिवारमा मतभेद र अस्वस्थता जस्ता समस्या आउन सक्छन्। मंसिरदेखि शनिको अनुकूल स्थानान्तरणले स्थितिमा सुधार आउनेछ भने शत्रु परास्त हुनुका साथै गुमेको अवसर पुनः प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ उद्योगधन्दा स्थापना गर्न सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। नोकरीमा प्रवेश तथा पदोन्नति हुने बलियो सम्भावना छ। भदौसम्म कष्टभावमा रहने राहुको प्रभावले चोटपटकको जोखिम बढाउने हुँदा जलक्रीडा, सवारी र हातहतियारको उपयोग सावधानीपूर्वक गर्नुहोला। भदौपछि दाम्पत्यभावमा राहुको स्थानान्तरणले प्रेमसम्बन्धमा खटपटी र पतिपत्नीमा मतभेद देखापर्न सक्छ। शनिजन्य बाधा हटाउन काली भगवतीको पूजा गर्ने र शनिवार पीपलको पूजा गरी जल चढाउनुहोला। भैरव र छिन्नमस्ताको पूजा गर्दा राहुदोषमा कमी आउनेछ। वैशाख, भदौ, असोज र माघ महिना विशेष फलदायी रहनेछन्। असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल रहनेछन्।
धनु - ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) :- धनु राशिलाई वर्षको पूर्वार्धमा व्यावहारिक समस्या देखिए पनि उत्तरार्धमा सुल्झनेछन्। बृहस्पतिको अनुकूलताले शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै लेखन कलामा निखारता आउनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। आँटले काम लिँदा मनग्य फाइदा हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। श्रावणदेखि कार्तिकसम्म बृहस्पतिको स्वाभिमानी प्रवृत्तिले आफन्तमा मतभेद उत्पन्न गराउनेछ। वर्षभरि शनिदेवको मध्य र अन्त्य साढेसाती चल्ने हुँदा विभिन्न व्यवधानसँग संघर्ष पनि भइरहनेछ। आयस्रोत कमजोर हुनेछ, खर्च बढ्नेछ र आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। आलस्य, ढिलासुस्ती गर्ने बानीले व्यवहारमा दुःख पाइनेछ। जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, अर्थ अभाव, मानहानि जस्ता समस्या आइरहनेछन्। भदौसम्म दाम्पत्यभावमा रहने राहुको प्रभावले प्रेमसम्बन्धमा खटपटी, दाम्पत्यमा मतभेद र जीवनसाथीलाई पीडा गराउनेछ। व्यवसायतर्फ दीर्घकालीन योजना नहु“दा उपलब्धिबिनै समय व्यतीत हुनेछ। भदौपछि राहुको अनुकूल स्थानान्तरणले प्रतिस्पर्धी परास्त हुनेछन् र महत्त्वपूर्ण उपलब्धि हातपार्न सकिनेछ। प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। मंसिरपछि वैवाहिक मार्गतर्फ अग्रसर भइनेछ। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूले विधिपूर्वक शान्ति र पूजाआराधना गर्नुहोला। शनिबार पीपलमा जल चढाउनुका साथै काली भगवतीको पूजा–आराधना गर्नाले पनि फाइदा हुनेछ। राहुको प्रतिकूल समयमा वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ। साउन, मंसिर र चैत महिनामा विशेष योजना नबनाउनुहोला।
मकर - ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) :- मकर राशिलाई यो वर्ष अवसर र चुनौती बराबर आउनेछन्। शीर्षभावमा बृहस्पतिको उपस्थितिले अरूको दबाब सहन गर्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना बन्नेछ तर कार्यान्वयन गर्न बाधा पुग्नेछ। नीतिको वकालत गर्दा अयोग्य र भ्रष्टहरूको निसानामा परिने सम्भावना छ। श्रावणदेखि कार्तिकसम्म शनिका साथमा बृहस्पति खर्चभावमा रहने हुँदा खर्चिलो काम गर्नुपर्ने स्थिति आउन सक्छ। सञ्चित रकम सकिनाले आर्थिक मन्दीले सताउनेछ। वर्षभरि शनिको अन्त्य र मध्य साढेसाती चल्ने हुँदा सीमित क्षेत्रबाट माथि उठ्न बाधा पर्नेछ। मस्तिष्कभावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति देखापर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झुटा आरोप, कार्यबाधा, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइलाग्नेछन्। आलोचक बढ्नाले काम रोकिनेछ। उच्च अधिकारीसँगको विवादले नोकरीमा चुनौती आइलाग्नेछ। तापनि, बृहस्पतिको प्रतिबद्ध स्वभावले काममा प्रवृत्त गराउनेछ। नोकरीमा बाध्यात्मक परिस्थितिले खुम्च्याए पनि विद्वत्ता र कलाका माध्यमले दमित अभिव्यक्ति प्रस्फुटन गर्न सकिनेछ। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। सुरुमा प्रतिस्पर्धीसँग जुध्नुपरे पनि भदौपछि स्वास्थ्य–समस्यामा केन्द्रित बन्नुपर्ने देखिन्छ। शनिको साढेसाती प्रभावबाट मुक्त रहन शनिवार पीपलको पूजा गरी जल चढाउनुहोला। काली भगवती, हनुमानजी र आफ्ना इष्टदेवको पूजा–आराधना गर्नाले पनि फाइदा हुनेछ। बृहस्पतिका गुण सक्रिय बनाउन बगलामुखी र राहुदोष शमन गर्न भैरवको पूजा गर्नुहोला। वैशाख, भदौ र पुस महिनामा नवीन कार्य नथाल्नुहोला।
कुम्भ - ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) :- कुम्भ राशिलाई खर्चभावका बृहस्पति र शनिको योगले चुनौतीको भेलमा संघर्षपूर्ण यात्रा गराउने देखिन्छ। विशेष गरी कर्जा लिएर काम गर्नेहरूलाई लगानी नउठ्ने चिन्ताले सताउन सक्छ। प्रारम्भ जोखिमपूर्ण देखिए पनि श्रावणदेखि बृहस्पति र शनि लाभस्थानमा जानाले स्थितिमा सुधार आउनेछ। र, छोटो समयमा राम्रो उपलब्धि प्राप्त हुनेछ। ठूलो भागको महत्त्वाकांक्षा नराख्नुहोला, कार्तिकसम्ममा लगानी उठाउन सकिनेछ। मिहिनेतले वर्षभरि फाइदा दिनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। मंसिरदेखि बृहस्पतिको प्रभावले धर्मकर्म, समाजसेवा एवं परोपकारी काममा खर्च गरिनेछ। कर्मयोगले देश–विदेश घुम्ने अवसर पनि दिलाउन सक्छ। खर्च लागे पनि विदेश ताक्ने विद्यार्थीहरूलाई यात्राको साइत जुर्न सक्छ। भदौ असोज र कार्तिक बाहेक अन्य महिनामा शनिको आद्य साढेसाती चल्ने हुँदा घरायसी विवाद चुलिन सक्छ। जन्मसमयमा प्रतिकूल शनि हुनेहरूलाई काममा ढिलासुस्ती, आफन्तमा वैरभाव, फजुल खर्च, झूटा आरोप, यात्रामा कष्ट जस्ता समस्या देखापर्नेछन्। टाउको तथा नसा–जोर्नीमा पनि समस्या देखिन सक्छ। असोजदेखि सुखभावमा राहुको उपस्थितिले पारिवारिक माहोल अशान्त रहनेछ। कृषि तथा पशु–चौपायामा हानि, घरजग्गामा किचलो र आफन्तजनमा वैरभाव नित्याउने हुँदा सजग रहनुपर्नेछ। आमाको स्वास्थ्य कमजोर रहनाले त्यसप्रति चिन्ता बढ्नेछ। वर्षको अन्त्यमा अंशीयार दाजुभाइबीच भागबन्डा लाग्न सक्छ। प्रतिकूल समयमा बृहस्पतिका लागि बगलामुखी र शिवजी, शनिका लागि काली भगवती र राहुका लागि वटुकभैरवको पूजा गर्नुभए ग्रहादोषबाट छुटकारा मिल्नेछ। यो वर्ष वैशाख, साउन, मंसिर र पुस महिनामा विशेष फाइदा हुनेछ।
मीन - ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) :- मीन राशिलाई यो वर्ष उत्साहजनक पृष्ठभूमिबाट सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। आयभावमा रहने बृहस्पति र शनिको अनुकूलताले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्गे आम्दानी हुनेछ। सुरुको मिहिनेतले वर्षभरि फाइदा दिनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। वर्षको मध्यतिर नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। सवारी, घरजग्गा तथा अन्य चल–अचल सम्पत्ति जोड्ने प्रबल ग्रहयोग देखिन्छ। उच्चशिक्षा तथा रोजगारीका लागि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। काममा मातापिताको सहयोग र सद्भाव प्राप्त हुनेछ। दिगो व्यवसाय प्रारम्भ गर्ने समय छ। समाजसेवा एवं परोपकारी काममा मन जानेछ। प्रयत्न गर्दा भौतिक स्रोत–साधन जुटाउन सफल भइनेछ। कर्मयोगले सदैव लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन्। घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। नयाँ उपलब्धि प्राप्त हुने सम्भावना देखिएकाले वर्षभरि मिहिनेत गर्नुहोला। भदौसम्म गृहसुखमा रहने राहुको प्रभावले पारिवारिक माहोल अशान्त रहनेछ। कृषि तथा पशु–चौपायामा हानि, घरजग्गामा किचलो र आफन्तजनमा वैरभाव नित्याउने हुँदा सजग रहनुपर्नेछ। वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा–आराधना गर्नुहोला, राहुको प्रतिकूल प्रभाव शान्त हुनेछ। यो वर्ष जेठ, भदौ, पुस र माघ महिनामा विशेष फाइदा उठाउन सकिनेछ। असार, कात्तिक र फागुन महिना अलि प्रतिकूल रहनेछन्।
तपाईको यो वर्ष शुभ रहोस् ।