शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको कमलामाई नगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु

सोमवार , चैत्र २४, २०७६

सिन्धुली,२४ चैत – सिन्धुलीको कमलामाई नगरपालिकाले दुई महिनाको सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको गरेको छ ।

लकडाउनका कारण विपन्न वर्ग मारमा परेकोले राहत स्वरुप समय अगावै चैत र बैशाख महिनाको सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । सोमबार कमलामाई नगरपालिकाको वडा नं. ६ नुनथलाबाट उक्त भत्ता बाँड्न सुरु गरिएको नगरपालिकाका सामाजिक शाखाका प्रमुख बबिन्द्रलाल माझीले जानकारी दिनुभयो । उक्त वडामा सामाजिक सुरक्षा भत्ता पाउने ६०८ जना रहेका छन् ।

वडा नं. ६ बाट सामाजिक सुरक्षाको भत्ता बितरण गर्न सुरु गरिएपनि अरु वडामा पनि क्रमसः बाड्दै जाने उहाँको भनाई छ । शाखा प्रमुख माझीले भन्नुभयो, “अहिले डकुमेन्ट संकलन गरि रहेका छौं । सोमबार बाँकी सबै वडाको सामाजिक सुरक्षाको भत्ता निकासा छाड्छौं । एक/दुई वटा वडा त्यस्तै भएर छुटे भने मात्रै ।”

कमलामाई नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको सङख्या दोस्रो चौमासिक सम्ममा सात हजार ६०२ जना रहेको र दुई महिनाको भत्ता स्वरुप तीन करोड ६७ लाख ९९ हजार दुई रुपैया खर्च हुने नगरपालिकाले जनाएको छ । जेष्ठ नागारिक, दलित, एकल महिला, लोपोन्मुख, अपाङग, आंशिक अपाङग लगायतले उक्त भत्ता पाउदै आएका छन् ।

नगर प्रमुख खड्गबहादुर खत्रीको संयोजकत्वमा नगरस्तरीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितीको शुक्रबार बसेको वैठकले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई लकडाउनको समयमा चैत र बैशाख महिनाको भत्ता दिने निर्णय गरेको थियो ।

नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले लकडाउनको कारणले आय आर्जनको काम हुन नसक्दा उत्पन्न आर्थिक कठिनाईलाई न्यून गर्न सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई चैत र बैशाख महिनाको भत्ता एकै पटक उपलब्ध गराउने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि सामाजिक सुरक्षा भत्ता तेस्रो तथा अन्तिम चौमासिक असारमा मात्र बितरण हुदै आएको थियो । अबपछि बाँकी दुई महिनाको भत्ता बितरण गरिने छ ।’

लकडाउनको समयमा भत्ता पाउदा सामाजिक सुरक्षा भत्ता लिने नागरिक पनि दङग परेका छन् । नुनथला निवासी करिब ७५ बर्षिय बिरबहादुर रम्तेल बेला बेलामा पाउने सामाजिक सुरक्षाको भत्ताले घर व्यवहार चलाउन निकै सजिलो भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बुढेलकाल लाग्यो, कमाउन हिड्न सकिदैन । महिनाको तीन हजार रुपिया घरमै बसेर पाउदा निकै खुशी लागेको छ । भत्ता नै बाँचने सहारा बनेको छ ।”

कमलामाई नगरपालिका वडा नं. ६ का अध्यक्ष उज्वलबिक्रम थापा पनि लकडाउनको समयमा खान बस्नको लागि सहयोग पुगोस भनेर भत्ता बितरण सुरु गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लकडाउनका कारण काम गर्न निस्किन कसैले पाएका छैनन् । अहिले बाड्ने भत्ताले उनीहरुलाई घर व्यवहार चलाउन पनि ठूलो सहयोग गर्छ ।”

प्रतिक्रिया