सिन्धुलीको कमलामाई नगरपालिकाले शनिबार नगरपालिकाको मुख्य बजारहरुमा कीटाणुशोधन स्प्रे ‘डिस्इन्फेक्सन स्प्रे’ छरेको छ । नगरप्रमुख खड्गबहादुर खत्री, प्रमुख प्रशासकिय अधिकृत सहित नगरका मुख्य योजनाकारहरुनै बजारमा आएर स्प्रे छरेपछि टिकाटिप्पणी शुरु भएको छ । महामारी कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणमा योजना बनाउनुपर्नेमा नगरप्रमुखले सस्तो लोकप्रियताकालागि स–साना काममा समेत आफैँ लागि परेको भन्दै एकथरिले आलोचना गरेका छन् भने केहिले नगरप्रमुखको कदमलाई स्वागत गरेका छन् । अहिलेको अवस्थामा नगरप्रमुखले कोरोना भाइरसको नियन्त्रण र रोकथामकालागि योजना बनाएर नगरलाई कसरी सुरक्षित बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । महामारीको समयमा हरेक समय मुल्यवान हुन्छ । कर्मचारीले नै गर्न सक्ने काममा जनताबाट निर्वाचित प्रतिनिधिले सस्तो लोकप्रियताकालागि फिल्डमै उत्रनु हाँस्यास्पद हो । किनभने, यो समयमा कीटाणुशोधन स्प्रेमात्र मुख्य हतियार होइन । कोरोना संक्रमणको विभिन्न चरणहरु हुन्छ जस्मा स्थानीय रुपमा संक्रमण फैलनु, बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सर्न थाल्नु दोश्रो चरण हो । यी सबै कुराहरुलाई मध्यनजर गर्दै नगरपालिकाले बाहिरी जिल्ला वा देशबाट आएका नागरिकको वास्तविक तथ्यांक खोज्नतर्फ केन्द्रित हुनुपर्छ । त्यसैगरि, महामारिको समयमा नगरवासीलाई कसरी उपभोग्य वस्तुको आपूर्ति गर्ने भन्ने विषयलाई पनि प्राथमिकता दिनुपर्छ ।
कमलामाई नगरपालिकाले कोरोना भाइरसको विषयमा निरन्तर बैठक गरिरहेको छ । बैठकमा अत्यावश्यक निर्णयहरु पनि भएको छ । ती निर्णयलाई कागजमा मात्र सिमित नगरि कार्यान्वयन गर्नतर्फ नगरपालिका गम्भिर हुन जरुरी छ । तसर्थ, नगरप्रमुखले मुख्य बजारमा स्प्रे छर्किएर नगरवासीप्रति प्रेम दर्शाउने भन्दा पनि अझैँ प्रभावकारी कदमहरु चालेर नगरलाई सुरक्षित बनाउन ध्यान दिन आवश्यक छ । अतः यो बेला भनेको स–साना कुरामा अल्झिने भन्दा पनि मजबुत योजना बनाउनतर्फ नगरप्रमुख व्यस्त हुनुपर्ने देखिन्छ ।