शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या पाँच पुग्यो

शनिवार , चैत्र १५, २०७६

काठमाडौं ,१५ चैत, – बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आउनु भएको थियो ।

त्यही विमानमा आउनु भएको १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

नमुना संकलनपछि उहाँलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उहाँलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया