बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अत्यावश्यक सामाग्रीको आपूर्ति गर

शनिवार , चैत्र १५, २०७६

महामारी कोराना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले लकडाउनको निर्णय गरेपछि बजार अहिले सुनसान छ, व्यापार व्यवसाय ठप्प छ । सरकारको निर्णयलाई आत्मशात गर्दै नागरिकले लकडाउनको निर्णय अवहेलना गरेका छैनन् । केहि बाहेक अधिकांश नागरिक कोरोना भाइरसप्रति सतर्क छन् । प्रहरी, सेना लगायत सुरक्षा निकायका कर्मचारीले महामारीको बेलामा पनि नागरिकलाई सुरक्षा दिइरहेका छन् । स्वास्थ्यकर्मीहरुपनि आफ्नो ज्यानको जोखिम मोलेर उपचारमा खटिएका छन् । उनीहरुको सुरक्षामा सरकारले विशेष प्राथमिकता दिनुपर्ने हो तर रक्षकहरुनै असुरक्षित भएर काम गर्नुपर्ने बाध्यता छ । पिपिई देखि अत्यावश्यक सामाग्रीको अभाव देखिएको स्वास्थ्यकर्मिहरुले बारम्बार बताइरहेका छन् । नेपाल सरकारले समाधानको बाटो खोजेपनि कछुवा गतिमा आफ्नो कदम चालिरहेको छ । तसर्थ, यो अवस्थमा स्वास्थ्यकर्मि, सुरक्षा निकायका कर्मचारी लगायत फिल्डमा रहेका राष्ट्रसेवक कर्मचारीको सुरक्षाको जिम्मा नेपाल सरकारले लिनुपर्छ । जिम्मा लिने भन्दा पनि उनीहरुलाई कसरी तत्काल सुरक्षा दिने भन्नेतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको नियन्त्रण र रोकथाममा खटिएका कर्मचारीलाई सुरक्षित बनाउनतर्फ जिम्मेवार निकायको यथासिघ्र ध्यान जान आवश्यक छ ।

त्यसैगरि, वर्तमान अवस्थामा अत्यावश्यक रहेका सामाग्रीहरुको आपूर्ति गर्न पनि सरकार अग्रसर हुन जरुरी छ । अहिले पनि देशका अधिकांश ठाउँहरुमा मास्क, स्यानिटाइजर लगायत अत्यावश्यक सामाग्रीको अभाव देखिएको छ । अभावका कारण कालोबजारी फस्टाइरहेको हुँदा समग्र अवस्थालाई मध्यनजर गर्दै प्रभावकारी कदम चालिनुपर्छ । अतः अत्यावश्यक सामाग्रीको आपूर्ति गरेर नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउन सरकार तत्पर हुनुपर्छ ।

प्रतिक्रिया