प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि सिन्धुलीको दुई स्थानिय तहबाहेक सातवटै स्थानिय तहमा बजेट आइसकेको छ । ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ नारा भएको यो कार्यक्रम श्रमिकलक्षित भएकाले पनि जिल्लामा श्रम गर्न रुचाउने बेरोजगार युवा तथा प्रौढ उमेरका महिला तथा पुरुष उत्साहित देखिएका छन् । जिल्लामा बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । यहि समस्याको न्युनिकरणकालागि स्थानिय तहले विभिन्न कार्यक्रम तथा प्रस्तावहरुको आधारमा १० लाख देखि ७५ लाख सम्मको अनुदान बजेट पाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम छिट्टै संचालनमा आउने विभिन्न स्थानिय तहका रोजगार संयोजकले जानकारी दिइसकेको छ । कार्यक्रम संचालनमा आउनुअघि सम्पुर्ण पुर्वतयारीको आवश्यकता छ । त्यसैले पनि स्थानिय तहले रोजगार कार्यक्रमलाई उपलब्धीमूलक बनाउन र सिन्धुलीमा बेरोजगारको समस्यालाई केहि हदसम्म कम गर्न विशेष गृहकार्य गर्न जरुरी छ । स्थानिय तहले बेरोजगारकालागि भनेर विभिन्न कार्यक्रमहरु बनाएको छ । ती कार्यक्रमहरुलाई प्रभावकारी ढंगमा कसरी संचालनमा ल्याउने लगायत वास्तविक बेरोजगारलाई कार्यक्रमबाट कतिको लाभान्वित बनाउने भन्ने स्थानिय तहले सोच्न आवश्यक छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कुनै पनि राजनैतिक दलकालागि कार्यकर्ता फकाउने माध्यम बन्नुहुदैँन । अतः सिन्धुलीमा रोजगारीको सिर्जना गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै अग्रसर हुहुनुपर्छ ।