शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मन्त्रिमण्डल पूनर्गठनको तयारी

सोमवार , फाल्गुण २६, २०७६

काठमाडौं, २६ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुनु हुने भएका छ । त्रि.वि. शिक्षण अस्पतालको मिर्गौला विभागका प्रमुख प्रा.डा. उत्तम शर्माले प्रधानमन्त्रीको डिस्चार्जको तयारी भैरहेको जनाउनु भएको छ । उहाँले अबको केही दिनभित्रै प्रधानमन्त्रीको डिस्चार्ज हुने बताउनु भएको छ ।उहाँले भन्नु भयो,“उहाँको डिस्चार्जको तयारी भैरहेको छ ।”

यता, प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्केलगत्तै मन्त्रिमण्डल पूनर्गठन गर्नेसम्मको तयारी गर्नु भएको छ । बालुवाटारनिकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले यो पटकको मन्त्रिमण्डल पूनर्गठनमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, युवा नेता महेश बस्नेत र सोमप्रसाद पाण्डेलाई सहभागी गराउने तयारी गर्नु भएको छ ।

पाण्डेलाई अर्थमन्त्री बनाउनेगरि मन्त्रिमण्डलमा सहभागी गराउन लागिएको सूत्रको दाबी छ । त्यतिमात्रै होईन, कमिशन प्रकरणमा मन्त्रीबाट राजीनामा दिएर बसेका गोकुल प्रसाद बाँस्कोटालाई पनि मन्त्रिमण्डलमा सहभागी गराउनेबारे ओलीले आफ्ना नजिकका नेताहरुसँग छलफल तथा परामर्श थाल्नु भएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले जनतामा प्रत्यक्ष सरकारको प्रभाव देखाउनेगरि आफ्नो टिममा नयाँ सदस्य थप्न खोज्नु भएको छ । त्यसको लागि उहाँले माधव नेपाल पक्षका नेताहरुलाई पनि सहभागी गराउने निधो गर्नु भएको छ । पछिल्लो समय पार्टीभित्र अल्पमतमा परेपछि ओलीले नेता नेपालको साथ खोज्नु भएको छ । ओली र नेता नेपालबीच हिमचिमपनि बढिरहेको छ ।

केही सार्वजनिक कार्यक्रममा समेत नेता नेपालले ओलीको लाईनामा आफ्ना अभिव्यक्ति दिनु भएको छ । उहाँले जनताको बहुदलीय जनवादको औचित्य अझैपनि बाँकी रहेको भन्दै यसको उपदेयताको बारेमा प्रकाश पार्दै हिँडनु भएको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने विषयमा पार्टीको निर्णयलाई नै च्यालेन्ज गर्नु भएको ओलीले आफूलाई पार्टीभित्र बलियो बनाउँदै लानु भएको छ । त्यसकै अर्को कडीको रुपमा उहाँले नेता नेपालका नेताहरुलाई सहभागी गराएर मन्त्रिमण्डल पूनर्गठन गर्न लागेको बुझिएको छ ।

प्रतिक्रिया