केहि महिना यता सिन्धुलीको ट्राफिक व्यवस्थापनमा थुप्रै कमिकमजोरिहरु देखिएको छ । अव्यवस्थीत पार्किङ, विपी राजमार्ग लगायत अन्य सडक खण्डमा क्षमता भन्दा बढि वजनको सवारीसाधनको आवत जावत, रातको समयमा यातायात व्यवसायीसँग आर्थिक लेनदेन लगायत थुप्रै आरोपले ट्राफिक प्रहरी कार्यालय सिन्धुली घेरिएको छ । विपी राजमार्गका कारण पनि सिन्धुलीको ट्राफिक व्यवस्थापन चुस्त हुनुपर्छ । तर, राजमार्र्ग नै कमाई खाने भाँडो भएपछि ट्राफिक व्यवस्थापन बलियो हुने कुरै भएन । जिल्ला ट्राफिक कार्यालय सिन्धुलीको प्रमुखमा कृष्णबहादुर क्षेत्री आएदेखिनै व्यवसायीहरुले ट्राफिक प्रहरीको आतंकलाई लिएर गुनासो गरिरहेका छन् । पछिल्लो समय सिन्धुलीमा सवारी साधनको संख्या ह्वात्तै बढेको छ । सडक दुर्घट्ना पनि बढिरहेको छ । यातायात व्यवस्थापन चुनौति बनिरहेको बेला जिम्मेवार व्यक्तिप्रति प्रश्न उठ्नु सामान्य विषय होइन । तसर्थ, विवादित प्रहरीलाई अनुसन्धानको दायरामा ल्याएर सत्यतथ्य छानविन गर्न आवश्यक छ ।
रातको समयमा विपी राजमार्गमा दैनिक दर्जनौँको संख्यामा मालवाहक लगायत अन्य गाढीहरु संचालनमा आउँछन् । ती गाढीहरुसँग पनि ट्राफिक प्रहरीले जथाभावि पैसा असुलेको गुनासो आइरहेको छ । समग्रमा, ट्राफिक प्रहरीप्रति नागरिकको विश्वास घट्दै गएको अवस्थामा विवादित ट्राफिक प्रहरीको उचित अनुसन्धान हुन आवश्यक छ । अन्त्यमा, ट्राफिक व्यवस्थापन सबै नागरिकको कर्तव्य भएकाले सडक नियमको पालना गर्नतर्फ हरेक नागरिक केन्द्रित हुनुपर्छ ।