नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले राजधानीलाई कुरुप बनाउने लाईन, इन्टरनेट, टेलिफोनका तारहरुलाई भूमिगत बनाउने अभियानमा लाग्नुभएको छ । नेपाली जनताहरुलाई लोडसेडिङबाट मुक्त बनाउनुभएको घिसिङले अब काठमाडौँलाई सुन्दर बनाउने अभियानको तारिफ पाइरहनुभएको छ । वास्तवमा, हाम्रा शहर वा गाउँहरु त्यतिको कुरुप छैन । तर, मानविय स्वार्थ र व्यवस्थापनको कमजोरिका कारण नेपालका मुख्य ठाउँहरु कुरुप देखिएका छन् । अनावश्यक रुपमा राखिएका होर्डिङ बोर्ड, गुजुल्टिएका तार, धुलो धुवाँका कारण काठमाडौँ लगायत नेपालका मुख्य ठाउँहरु प्रभावित भएका छन् । बेलाबखत, मुख्य ठाउँहरुको नाकामा गाडी धुनुपर्ने नियमको कुरा उठेपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण धुलो र धुवाँको समस्यालाई थप बल्झाएको छ । त्यसैरि, मुख्य ठाउँहरुमा निजी कम्पनिले अनावश्यक प्रचारप्रसारका लागि राखेका विज्ञापन र होर्डिङ बोर्डले झनै शहरलाई कुरुप बनाएको छ । स–साना कुराले गर्दा नेपालका रमणिय ठाउँहरु नराम्रो बन्दै गएको छ । तसर्थ, यी स–साना बाधा वा अवरोधलाई अन्त्य गर्न सरकारी संयन्त्रले बलियो कदम चाल्न जरुरी छ ।
कुनै समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा काठमाडौँका सडक छेऊका घरहरु रंगाए जस्तै मुख्य सडकका घरहरु सफा र राम्रो बनाउनतर्फ पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । तर, धुलो धुवाँको समस्यालाई भने सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्छ । अतः कुलमान घिसिङ र समग्र सरकारी संयन्त्रले जसरी तारलाई भुमिगत गर्दै सुन्दर काठमाडौँ बनाउन लागिपर्नुभएको छ त्यसरीनै सरोकारवाला निकायले आफ्नो ठाउँलाई सुन्दर र सफा बनाउनतर्फ केन्द्रित हुनुपर्छ ।