शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

गाँउको खोलाबाट उत्पादित बिजुलीले गाँउ बनायो झलमल

आइतवार , माघ १२, २०७६

सिन्धुली,१२ माघ – सिन्धुलीको फिक्कल गाँउपालिका – ६ रत्नावतीका बासिन्दाले गाँउकै खोलाबाट १८ किलोवाट विद्युत उत्पादन गरी गाँउ झिलीमिली बनाएका छन् ।

लगातारको चार बर्षको कडा परिश्रमपछि साउखोला लघु जलविद्युत आयोजना दोस्रोबाट १८ किलोवाट विद्युत उत्पादन गरि विगत एक बर्षदेखि गाँउ झिलिमिली भएको स्थानीयले बताएका छन् । ‘यतिखेर रत्नावतीको चारघरे, गचेखोला, आपटार, धारखोला, सालुके र चैनटार लगायतका बस्तिका घर परिवार बिजुलीमा रमाएका छन्,’ आयोजनाका अध्यक्ष धनबहादुर कार्कीले भन्नुभयो, ‘अहिले दुई सय घरमा बिजुली बत्ति बालेका छौं, बिस्तारै १० घरमा थप गर्ने योजना छ ।’

अहिले दुई सय घरमा नै विद्युत मिटर जडान गरि सकेको जानकारी दिदै फिक्कल गाँउपालिकाका अध्यक्ष समेर रहनु भएका कार्कीले थप्नुभयो, ‘एक घरले बिजुली उपभोग गरे बापत प्रति महिना १५० रुपैया र प्रति युनिट ३० रुपैया लिने निर्णय गरेका छौं । तर प्रति युनिट ३० रुपैया मँहगो भयो भन्ने उपभोक्ताबाट गुनासो आएकाले सबैको भेलाबाट घटाउने छौं ।’

वि.सं. २०७१ सालदेखि निर्माण सुरु गरिएको उक्त आयोजना उपभोक्ताको ३० लाख रुपैया बराबरको जनश्रमदानसहित एक करोड २७ लाख रुपैयाको लागतमा सम्पन्न भएको हो । आयोजना निर्माण गर्न उपभोक्ताबाट नगद सङकलन १० लाख ४५ हजार, बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले प्रतिकिलोवाट चार लाख रुपैयाका दरले ७२ लाख रुपैया अनुदान, सङघिय संसद विकास कोषबाट छ लाख रुपैया, फिक्कल गाँउपालिकाले पाँच लाख रुपैया सहयोग गरेको आयोजनाका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

आयोजनाको रेखदेख गर्नका लागि एक जना र बिजुलीको महसुल उठाउन एक जना गरि दुई जनालाई पनि रोजगार दिएको उहाँको भनाई छ ।

अर्का स्थानीय उपभोक्ता पदम तामाङका अनुसार गाँउकै खोलाबाट बिजुली उत्पादनसँगै उपभोक्ताहरु पनि उत्साहित भएका बताउनुहुन्छ । गाँउकै खोलाबाट बिजुली उत्पादनसँगै उपभोक्ताहरु पनि उत्साहित भएका बताउनुहुन्छ । ‘चार बर्षजति दुःख गरेर गाँउलाई झिलिमिली बनाई रुप नै फेरेका छौं,’ उहाँले उत्साहित हुदै भन्नुभयो, ‘बिजुली नहुदा टुकी, लाल्टिन बालेर अँध्यारो भगाउथ्यौं । अहिले त घर पिच्छे बिजुली बत्ति छ ।’

दिउसोको सयमा विद्युतको सदुपयो गर्दै बिजुलीबाट कुटानी पिसानीको मिल सञ्चालन गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । उपभोक्ता तामाङका अनुसार अब मिल सञ्चालन गरेपछि महिलालाई पनि सहज हुने भएको छ ।

‘गाँउमा मिल नहुदा बिशेष गरि महिलालाई मात्रै ढिकि जाँतो गर्नु पर्ने बाध्यता थियो,’ उहाँले गाँउको समस्या दर्शाउने क्रममा थप्नुभयो, ‘रातको समयमा झन झिलिमिलीले गाँउको सुन्दरता नै थपेको छ । हिजोको अँध्यारो रत्नावती, आज उज्यालो रत्नावतीमा परिणत भएको छ ।’

बिजुली पुगेपछि अब त्यस क्षेत्रमा सञ्चारको सुविधा समेत पुगेको स्थानीयको भनाई छ । ‘विद्युत नहुदा मोबाईल चार्ज गर्न पनि समस्या थियो, अब सहज भएको छ,’ अर्का स्थानीय उपभोक्ता मानबहादुर रानाले भन्नुभयो, ‘बाल बच्चा पनि बिजुलीको उज्यालोमा पढ्न पाउदा खुशीले दङग परेका छन् ।’

रत्नावतीकै साउखोला लघु जलविद्युत आयोजना पहिलोबाट १३ किलोवाट विद्युत उत्पादन गरि १५६ घर परिवारले उपभोग गर्दै आएको स्थानीय बासिन्दा बताउछन् ।

प्रतिक्रिया