सिन्धुली २५ पुस– जिल्ला प्रशासन कार्यालय सिन्धुली र हुराडेक नेपालको सयुक्त आयोजनामा बिहिवार सदरमुकाम सिन्धुलीमाढीमा सूचनाको हक ऐनको कार्यान्वयनको अवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुले सरकारी कार्यालयमा सूचना अधिकारीको लापरवाहीले भनेको बेलामा सूचना नपाएको गुनासो गरेका छन् । पत्रकार अनिल भण्डारीले भनेको समयमा सरकारी कार्यालयका सूचना अधिकारीले सूचना नदिने र सूचना माग्दा थाहा नभएको भन्ने गैह्र जिम्वेवारी पुर्ण भनाइले सही समाचार सम्प्रेषण गर्न कठिन भएको तर्क गर्नुभयो ।
पत्रकार कृष्णहरी घिमिरेल स्थानीय तहले आफ्नो कार्यक्रम गोप्य रुपमा गर्न थालेकाले नागरिक सूचनाको हकबाट बञ्चित बनेको चर्चा गर्दै सूचना पाउनु पर्ने नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हक नैसर्गिक अधिकार हो ।’
कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सूचनाको हक भनेको पत्रकारको लागि मात्र नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो आधुनीक लोकतान्त्रिक प्रणालीमा जनतालाई बोल्ने, लेख्ने हक तथा स्वतन्त्र प्रेस भएर मात्र पुग्दैन, राज्यको प्रत्येक निर्णय र त्यस्तो निर्णय कार्यान्वयन गर्ने प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न उनिहरूलाई सूचनाको अधिकार हुनुपर्दछ ।’
सूचनाको हक सम्बन्धि कानुन ल्याउनमा पत्रकार जगतले निर्वाह गरेको अग्रणी तथा सक्रिय भूमिकाले गर्दा पनि धेरैजसोलाई यो पत्रकारकै अधिकार हो कि भन्ने भान पर्न गएको उहाँको भनाई थियो ।
उक्त कार्यक्रममा सरकारी काम कारबाहीमा प्रभावकारिता ल्याउने, भ्रष्टाचार न्यूनीकरण हुने, सूचनामा नागरिकको सहज पहुँचले आपूर्ति पक्ष जनउत्तरदायी बन्ने, प्रजातान्त्रिक विधिको परिपालनामा सहयोग पुग्ने, सूचनामा नागरिकको सहज पहुँचको लागि सूचना कानुनको स्वतन्त्रताको प्रत्याभूति लगायतका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सूचनाको हक लोकतन्त्रको विशिष्ठ आधार र संस्कार पनि रहेकाले यो अधिकारबाट कोही नागरिक बञ्चित हुनुहुन्न भन्ने विषयमा कार्यक्रम सञ्चालन गरिएको हुराडेक नेपालका संयोजक सुष्पा भुजेलले धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हामिले यो कार्यक्रम युएसआइडिको सहयोगमा दोलखा, रामेछाप र सिन्धुली जिल्लामा सञ्चालन गदै आइरहेका छौ । लैङिगक समानता र विकृती तथा विसंगतिको घोर विरोध गदै हामि अघि बढिरहेका छौ ।’