प्रदेश नं ३ को राजधानी तोक्न प्रदेशसभामा छलफल र मतदान हुने भएको छ । अस्थायी राजधानीलाई नै स्थायी बनाउने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको निर्णयमा असन्तुष्टि व्यापक देखिएको छ । भोलि (मंगलबार) सभामा मतदानपछि स्थायी राजधानी तोकिने छ । १३ जिल्ला रहेको प्रदेश नं ३ मा राजधानी तोक्दा प्रदेश सभा सदस्यले विशेष ध्यान दिन जरुरी छ । सबै जिल्लालाई पायक पर्ने ठाउँमा राजधानी तोक्नतर्फ सदस्यहरु गम्भिर हुन आवश्यक छ । स्वार्थभन्दा माथि उठेर नागरिकको हितमा स्थायी राजधानी तोकिनु पर्दछ ।

त्यसैले, सभा सदस्यहरुले मतदान गर्दा समग्र मापदण्डलाई ख्याल गरेर मतदान गर्न आवश्यक छ । प्रदेशको राजधानी सानो विषय होइन । राजधानी हुनकालागि मापदण्डहरु तोकिएको हुन्छ । संघिय संरचनामा रहेका धेरै देशहरुले मापदण्डमा टेकेर राजधानी तोकेका छन् । पुर्वाधारको पहुँच लगायत नागरिकलाई सजिलो हुने जिल्लालाई राजधानी बनाउन सदस्यहरुले बल गर्न आवश्यक छ । हेटौँडा सहित पाँच वटा जिल्लालाई अहिले स्थायी राजधानीकोलागि प्रस्तावित गरिएको छ । यी जिल्लाहरुका विशेषता र समग्र प्रदेशको प्रतिनिधित्व गर्ने राजधानी भए प्रदेश नं ३ को भलो हुन्छ । अतः ३ नं प्रदेशको नामाकरण र राजधानीलाई लिएर गम्भिर भएर सम्बन्धित पक्षले सोच्न जरुरी छ ।