नेपालमा पछिल्लो जनगणनाले छोरी जन्मिने क्रम घटेको देखाउँछ । पुरुषभन्दा महिलाको संख्या बढी देखाए पनि पछिल्ला वर्ष छोरी जन्मिने क्रम घटेको बताइएको छ । कानुन अनुसार विशेष अवस्थामा बाहेक १२ हप्तापछि भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन । तर, नेपालमा भने पितृसत्तात्मकसोच, धार्मिक, सांस्कृतिक र सामाजिक लगायतका कारण लिंग पहिचानपछि छोरी भएमा गर्भपतन गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । देशका केही ठाउँमा छोरी पढाउने, बचाउने, उनीहरूका लागि बैंक खाता खोल्ने वा बिमा गर्ने कामको थालनी भएका भएका छन् । तर, गैरकानुनी गर्भपतनविरुद्ध कडा कानुन र त्यसको कार्यान्वयन सँगसँगै छोराछोरीबीचको विभेद हटाउन पर्याप्त जनचेतना फैलाउने कामले तीव्रता लिएको छैन । तसर्थ, विभेद हटाउन जनचैतना फैलाउने कामले तिव्रता नलिएसम्म अझै धेरै छोरीहरू जन्मन पाउने छैनन् ।
किशोरीमा गर्भपतनको असर, सुरक्षित हुने तरिका लगायतका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको छ । विद्यालय तहमै यसबारे शिक्षा फैलाउन सके चेतना अभिवृद्धिमा मद्धत पुग्नेछ । त्यसैगरि,स्थानीय तहबाटै असुरक्षित गर्भपतनलाई शून्यमा झार्न पहल गरिनुपर्छ । अतः लिंगको आधारमा हुने गर्भपतनलाई निरुत्साहित पार्न सम्बन्धित सबै निकाय गम्भिर हुनुपर्ने देखिन्छ ।