४५ करोड मूल्य बराबरको ३० लाख चल्ला जिउँदै गाडेको नेपाल ह्याचरी उद्योग संघले मूल्य समायोजनलाई मुख्य उद्धेश्य बनाएकोे छ । संघको निर्णयप्रति केहि किसानहरुले विरोध गरिरहेका छन् । किसानले मात्र नभएर पशु अधिकारकर्मीले पनि संघको कदमप्रति आलोचना गरिरहेका छन् । बजार सन्तुलन कायम गर्न चल्ला मारेको संघले बताएपनि कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीकालागि प्रोत्साहन गर्नु मुख्य कारण रहेको भन्दै गुनासो आइरहेको छ । देशको अर्थतन्त्रमै धक्का पुग्नेगरि करोडौँ चल्ला नोक्सान गर्दा किसानहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । कुखुरा उत्पादनलाई कम गर्दै कृत्रिम अभाव सिर्जना गर्ने प्रयास अवश्य पनि हुन्छ । त्यसैले, जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायले चल्ला मारेको विषयमा आवश्यक अनुसन्धान गर्न बेलैमा ध्यान दिनुपर्छ ।
अहिले ठूलो संख्यामा कुखुरा पालनतर्फ कृषक आकर्षित भएका छन् । मासुकालागि नेपाल आत्मनिर्भर पनि छ । यस्तो अवस्थामा कुखुरा नष्ट गर्ने लगायत कृषकलाई त्रसित बनाउने वातावरण सिर्जना हुनुहुदैँन । त्यसैगरि, संघले पनि आफूखुशी चल्ला नष्ट गर्ने भन्दा छलफल गरेर आवश्यक कदम चाल्दा सबैको हित हुनेछ । अतः ४५ करोडको चल्ला नष्ट भएको अवस्थामा अनुसन्धान गरेर ठोस कदम चाल्न सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।