छिमेकि राष्ट्र भारतले नेपालको लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालको राजनितिमा ठूलै तहल्का मच्चियो । दुई तिहाईको सरकार भएको बेला भारतको ज्यादतिप्रति सरकारले प्रतिरोध गर्ने भनेपनि अहिलेसम्म खासै उपलब्धिमुलक काम हुन सकेको छैन । भारतले नेपालको भूमि आफ्नो नक्सामा समेटेर औपचारिक रुपमै अरुको देशको भूमि अतिक्रमण गरेको छ । लिम्पियाधुराको विषयलाई लिएर जति चर्चा भइरहेको छ त्यो भन्दा बढि भूमि भारतले हडपेको छ । आफ्नै भूमिमा पनि नेपालीहरु सुखसँग बस्न नसकेको अवस्था छ । भारतसँगको खुल्ला सिमानाका कारण पनि सिमा पिल्लरहरु सार्ने काम भारतीय प्रहरीले गर्दै आएको छ । विश्वमा आफ्नो पक्कड जमाईरहेको भारतले नेपालको थुप्रै भुमि मिचेको छ । तर, नेपालमा भने ती विषयहरु एकलहरले चर्चामा आउँछ र हराउँछ । नेपाली जनताले केपी ओलीको सरकारबाट धेरै अपेक्षा गरेको अवस्था छ । तर, दुई तिहाईको सरकारले पनि भारतसँग खुट्टा कमाएको आलोचना हुन थालिसकेको छ । आफ्नो भूमिमा अरुको रजाई भइरहदा पनि सरकारले त्यस्को विरोध गर्न सकेको छैन । नाकाबन्दीको बेला केपी ओलीले देखाएको राष्ट्रियता अहिले प्रमाणित गर्ने बेला आएको छ । भारतले पहिलेदेखिनै नेपालको भुमि अतिक्रमण गर्दै आएको छ ।
अहिलेको सरकार बलियो सरकार हो । त्यसैले, भारतको ज्यादतिका विरुद्धमा कदम चाल्न सरकार पछि हट्नुहुदैँन । सिमा अतिक्रमणको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने भन्ने प्रतिक्रियाहरु पनि आएका छन् । तर, भारतले विगत धेरै वर्षदेखि नेपालमाथि गरेको अतिक्रमणको विरुद्धमा आवाज उठाउनु पर्ने बेला आइसकेको छ । तसर्थ, ओली सरकारले अब चुप लागेर बस्ने भन्दा पनि एक्सनमा उत्रन आवश्यक छ । अतः कुनै पनि नेपालीले आफ्नो भुमिमा अरुको रजाई देख्नु नपर्ने अवस्था सिर्जना गर्न सबै राजनैतिक दल एवं सम्बन्धित निकाय एकजुट भएर अघि बढ्न जरुरी छ ।