शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

काँग्रेसमा गुटको अन्त्य आवश्यक छ : नेता डा महत

सोमवार , मंसिर ३०, २०७६

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसभित्र रहेका गुटहरुको अन्त्य आवश्यक रहेको बताउनुभएको छ् ।

नेपाली काँग्रेस बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गुटबन्दीले पार्टीलाई खतरामा पार्ने हुँदा यसको अन्त्य गरी एक भएर चल्नुको विकल्प छैन् ।”

नेता महतले पार्टीका शीर्ष नेताहरु नै गुटबन्दीमा लाग्दा तल्लो तहसम्म असर देखा परेको उल्लेख गर्दै पछिल्लो समयमा पार्टीभित्र गुटउपगुटको खेती झनै मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

गुटको अन्त्यका लागि तल्लो तहबाट दबाब सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उहाँले शीर्ष नेताहरुका कारण पछिल्लो पुस्तासम्म गुटको प्रभाव परेको हुँदा यसको अन्त्य गरी एक भएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

नेता महतले नेतृत्वबीच छलफल भएको १४ औँ महाधिवेशनको मुद्दालाई सहमतिका साथ निर्णय गरेर सभापति अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“सहमति गरेर समयावधि बढाऔँ”, उहाँले भन्नुभयोे, “नेतृत्वले सबैको कुरा सुन्नुपर्दछ, हामी विपक्षसँग लड्ने हो, आफू–आफू त सहमति बनाएर अगाडि बढ्ने हो ।”

नेता महतले समयावधि सकिएका भातृ एवं शुभेच्छुक संस्थाको यथाशीघ्र छिटो अधिवेशनको बाटोमा जानुपर्ने बताउँदै काँग्रेसले ल्याएको बलियो अर्थनीतिका कारण राज्य बलियो भएको दाबी गर्नुभयो । “हामीले खुला अर्थ नीतिको सिद्धान्त ल्यायौँ”, पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता महतले भन्नुभयोे, “यही सिद्धान्तलाई अहिलेको सरकारले पनि आत्मसात गरेको छ, काँग्रेसले बोकेको राजनीतिक विचारमा सबै आउन बाध्य भएका छन् ।” काँग्रेसले खोजेको समाजवादको पक्षमा सरकार विस्तारै आउन थालेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया