सिन्धुलीको गोलन्जोर गाउँपालिका–६,नाकाजोलीमा किरण मश्रांगीले मदिरा सेवन गरेर आफ्नै श्रीमती र छोरीको हत्या गरे । यो घटना ३ महिना अघिको हो । अहिले हतियारा सिन्धुली कारागारमा कानुनी सजाय भोगीरहेका छन् ।
कात्तिक १६ गते दुधौलीमा श्रिमानले पाकिरहेको तरकारीमा अनुहार डुवाई आफ्नै श्रिमती गम्भिर घाईते बनाए । विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा उपचार भइपछि अहिले उहाँ आफ्नै निवासमा फर्किनुभएको छ । श्रिमती घाईते बनाएर फरार रहेका रितु सदा अझै फरार रहेको उहाँको पारिवारिक स्रोतले जनाएको छ । यस घटना हुनुपुर्व दुवै जनाले मदिरा सेवन गरेका जनाईएको छ ।
यि घटनाहरु त दुई वटा उदाहरण मात्रै हो । मदिराको अत्याधिक सेवनले मानिसले अरुको मात्र हैन आफ्नै ज्यान लिने सम्मको गतिविधि गर्न थालेको घटनाहरु पछिल्लो समय सिन्धुलीमा सार्वजनिक हुन थालेको छ । दुधौली नगरपालिका,कमलामाइए नगरपालिका,घ्याङलेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका लगाएत स्थानीय तहमा अत्याधिक मदिरा सेवनका कारण शान्ती सुरक्षाको प्रत्याभुती नभएको भन्दै स्थानीयवासिन्दाहरु चिन्ता व्यक्त गर्नुहुन्छ ।
सिन्धुलीमा बढ्दो मदिराको प्रयोगले शान्ति सुरक्षा खस्कदै जान थालेको छ । जिल्लामा मदिरा सेवनका कारण पत्याउनै नसकिने घटना समेत घट्न थालेका छन् । मदिराको अव्यवस्थित बिक्री वितरण र अत्यधिक सेवनका कारण अपराध र हिंसा बढेको मात्र छैन,स्वयम् व्यक्तिको स्वास्थ्य, परिवार र समाजमा समस्या पनि उत्पन्न भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएका मुद्धाहरु अधिकांश मदिरासँग जोडिएको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख उपरिक्षक चक्र बहादुर सिंहले बताउनुभयो । मदिराको बढ्दो प्रयोगले जिल्लाको शान्ति सुरक्षामा चुनौति थपिएको उहाँको भनाई छ । शान्ति सुरक्षा खलल पुग्नुमा अत्याधिक मदिरा सेवन कारक बनेको उहाँले बताउनुभयो ।
आर्थिक बर्ष २०७३÷०७४ देखि २०७६/०७७ कात्तिक मसान्त सम्ममा मदिरा सेवन गरि कुटपिट तथा झैझगडा भएको लगाएतका घटनाहरुको ७८ वटा मुद्धा प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएको छ । सिन्धुली सौगातसँग कुराकानी गर्नुहुँदै प्रहरी उपरिक्षक सिंहले सार्वजनिक अपराध, घरेलु हिंसा, बलात्कार, कुटपिट, भवितब्य ज्यान, फुटकर ज्यान लगाएत घटनाका कारण मदिरासँग जोडिने गरेकोे बताउनुभयो । घरेलु हिंसा र जबर्जस्ती करणीको घटना हुनुको पछाडि समेत मदिरा सेवन प्रमुख चुनौतीका रुपमा देखिएको उहाँले बताउनुभयो ।
लागु औषध, जुवातास, जाडरक्सी, लगायतका शान्ति सुरक्षामा खलल पु¥याउने क्रियाकलापलाई नियन्त्रण र कारबाही गर्न सिन्धुली प्रहरीले विभिन्न अभियान समेत संचालन गदैँ आएको छ । प्रहरी साझेदारी कार्यक्रम मार्फत मदिरा नियन्त्रण सम्बन्धि विभिन्न अभियानहरु जारी राखिएको उपरिक्षक सिंहले बताउनुभयो । घरेलु मदिरा समेत नष्ट गरिदै आएको उहाँको भनाई छ । प्रहरीबाट मात्र समाजमा हुने गरेका विकृती,विसंगती नियन्त्रण गर्न सम्भव नहुने भन्दै शान्त र सुरक्षित समाज निर्माणका लागी स्थानीय सरकार र स्थानीयवासीले पनि विशेष जोड दिनुपर्ने उपरिक्षक सिंहले बताउनुभयो ।