शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मन्त्रिपरिषद् पुनर्गठन

बिहिवार , मंसिर ५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधवार साँझ २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको हो ।

नयाँ मन्त्रीमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ हुनुहुन्छ ।

त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहनुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान मन्त्रिमण्डलबाट बिदा हुनेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव हुनुहुन्छ । त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त हुनुभएको छ ।

त्यस्तै उपप्रधानमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकआपसमा विभागीय मन्त्रालय हेरफेर भई उपप्रधानमन्त्री यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्नुहुनेछ । विसं २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो ।

प्रतिक्रिया