सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो ।
जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनुहुनेछ । यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गर्नु भएको थियो । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।
“कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै भन्नु भयो, “एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्नुहुनेछ ।” तर दुवै नेताको वरीयता भने बराबर हुनेछ । पार्टी र सरकार सञ्चालन दुवै नेताको सहमति, सल्लाह र समझदारीमा हुनेछ ।
“बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको छ । तर वरीयताक्रम यथावत रहनेछ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठकको अध्यक्षता संयुक्त गर्ने र सञ्चालन अध्यक्ष प्रचण्डले गर्ने विषयमा समझदारी जुटेको छ,” उहाँले भन्नु भयो । ।