सिन्धुलीमा खैजेडी भजन लोप भएको भएको छ । सत्यनाराय पुजा,सप्ताहा,भागवत लगाएत धार्मिक कार्यमा गाईने खैजेडी भजन लोप भएको हो । पछिल्लो समयमा खैजेडी भजन,खैजेडी नृत्य र खैजेडी बाजा समेत लोप भएको कमलामाई नगरपालिका–३,चपौलीका गोमविर वि.कले बताउनु भयो ।
उहाँले अघिल्लो पुस्ताले औधि रुचाएको खैजेडी भजनलाई अहिलेको पुस्ताले नरुचाएकोे बताउनुभयो । आजभन्दा १५ बर्ष अघि सम्म गाउँघरमा दैनिक जस्तो भजन हुन्थ्यो,आज यो टोलमा भजन भयो भने भोली अर्को टोलमा हुन्थ्यो,कोही दिन दुई घरमा एकै दिन पनि हुन्थ्यो । ति दिनहरुको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो,“अहिले त खैजेडी भजन लोप हुँदै गएको छ ।”
आज भन्दा १० बर्ष अघि सम्म पनि सत्यनाराय पुजा,सप्ताहा,भागवत लगाएत धार्मिक कार्यमा खैजेडी भजनको माग हुने गरेका वि.कले बताउनुभयो । अघिल्लो पुस्तामा बुढेशपन आउनु तथा नयाँ पुस्ता लेखपढका लागी शहर र विदेश पलायन हुनुले नेपाली पराम्परा र संस्कृती बोकेको खैजेडी भजन लोप भएको उहाँको भनाई छ ।
यस्तै चपौलीका अर्का स्थानीय पोष्टराज गौतमले खैजेडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवाद बाहेक देखिन छोडिएको बताउनुभयो । उहाँले युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आर्कषण र प्रविधिले नेपाली पराम्परा र संस्कृती नै लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
यसैविच धार्मिक,सांस्कृतीक र नेपाली पहिचानसँग जोडिएको खैजेडी भजन लोप हुदै गएपछि कमलामाई नगरपालिका–३,चपौलीका दाजुभाई संरक्षणमा जुट्नुभएको छ । स्थानीय धन बहादुर दर्नालको नेतृत्वमा चपौलीका १३ जना दाजुभाई खैजेडी भजन संरक्षणमा जुट्नुभएको हो ।
पछिल्लो समय धार्मिक कार्यमा खैजेडी भजन टिमकोे माग धेरै कम हुने भएको दर्नालले बताउनुभयो । उहाँले यसको संरक्षणका लागी विभिन्न मेला,महोत्सवमा खैजेडी भजन र नृत्य प्रस्तुत गर्ने गरिएको बताउनुभयो । खैजेडी भजनको संरक्षणका लागी नयाँ पुस्तालाई आर्कषण गर्नुपर्ने दर्लालको भनाई छ । खैजेडी भजन युवा पुस्ता माझ लोकप्रिय बनाउन पहिलो त यसको महत्व बुझाउनु जरुरी रहेको उहाँले बताउनुभयो ।
नेपाली संस्कृती र पराम्परा जोगाउनका लागी स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले निती नै बनाएर अगाडी बढ्नु पर्ने दर्लामीको धारण छ । यसो नगरे लोक संस्कृती,पराम्परा र नेपाली पहिचान झल्कने सिर्जनशिल्ताहरु नै विस्तापित हुने उहाँले बताउनुभयो ।
चपौलीका दाजुभाई टिमले खैजेडी भजन गाउँन र नाच्न प्रशिक्षण समेत दिनुहुन्छ । सोमबार देखि सिन्धुली कलाले सिन्धुलीमाढीमा आयोजना गरेको खैजेडी भजन तालिमको प्रशिक्षक पनि चपौलीका खैजेडी दाजुभाई टिमका संयोजक धन बहादुर दर्नाल,गोमविर वि.क र पोष्टराज गौतम हुनुहुन्छ ।