प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद पुनर्गठन गर्नु हुने भएपछि मन्त्री बन्नका लागि सांसदहरुको दौडधुप चलेको छ ।
मन्त्रीमण्डल पुनर्गठनमा मन्त्री बनाउने सांसदहरुलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर वान टू वान वार्ता गरी तयारी अवस्थामा रहन संकेत गर्नु भएको छ । अहिलेसम्म कति जना मन्त्री हटाउने भन्ने विषयमा टुंगोमा पुग्न नसक्नु भएको प्रधानमन्त्री ओलीले नयाँ बन्ने मन्त्रीहरुको नाम पनि गोप्य राख्नु भएको छ ।
प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाललाई निरन्तरता दिने बताइन्छ ।
यसैगरी पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेतलाई पनि निरन्तरता दिने चाहना राख्नु भएको छ । शिक्षा मन्त्री पोखरेलसँग ट्यूनिङ नमिलेपनि आन्तरिक समिकरणका कारण प्रधानमन्त्री ओली सकारात्मक रहनु भएको बताइन्छ ।
मन्त्रीमण्डलमा आउने सम्भावित मन्त्रीको लिस्टिङ पनि प्रधानमन्त्री ओलीले तयार पार्नु भएको छ । मन्त्री बन्ने हरुमा नेकपाका नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नी सापकोटा, प्रभु साह, खजराज अधिकारी, महेश बस्नेतको नाम चर्चामा छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्वाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, र हृदयश त्रिपाठी मध्येबाट मन्त्री बनाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।