नेपालमा दैनिक औसतमा २ जनाको लाश विदेशबाट भित्रने गर्दछ । वैदेशिक रोजगारीकालागि विदेशिएका युवाहरु त्यहाँको वातावरणमा घुलमिल हुन नसक्दा मृत्यु हुने गरेको छ । विशेषगरि, मौसमका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । दिउँसो घाम र रातमा एयर कन्डिसनरको प्रयोगले गर्दा पनि शरिरमा असन्तुलन भएर मृत्यु भइरहेको छ । प्रक्रियागत रुपमा वैदेशिक रोजगारीमा गएकालाई कुनै क्षति पुगेमा नेपाल सरकारले सहयोग गर्दै आएको छ । सरकारले विदेशमा ज्यान गुमाउनेको परिवारलाई १७ लाख सम्मको क्षतिपूर्ति दिदैँ आएको छ । क्षतिपुर्तिको यो प्रावधानले मृतक परिवारलाई धेरै राहत पुर्योएको छ । तर, नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षाकालागि पनि विशेष ध्यान दिन आवश्यक छ । वैदेशिक रोजागारीका लागि गएका युवायुवतिहरुले धेरै समस्या झेलिरहनुपरेको अवस्था छ । म्यानपावरको गलत सूचनाका कारण पनि विदेशमा पुगेर नेपालीहरु अलपत्र हुने गरेका छन् । त्यसैगरि, त्यहाँको रहनसहन र वातावरणका बारेमा पनि उनीहरुलाई पहिले नै सूचना दिन आवश्यक छ । ठूलो सपना बोकेर विदेशिएका युवाहरुलाई सहि सूचना र परामर्श दिन सके सहज हुनेछ ।
तसर्थ, विदेशिने युवाहरुले पनि विदेश जानुपुर्व सबै सूचनाहरुका बारेमा जानिराख्नुपर्छ । अतः विदेशबाट दैनिक भित्रिरहेको लाशलाई कम गर्न र विदेशमा कामदारको सुरक्षाका बारेमा सरकारले कुटनैतिक पहल गर्न आवश्यक छ ।