शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

कमला नदीमा माछा पाईन छोड्यो

बुधवार , कार्तिक २७, २०७६

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर–११ स्थित ग्वाङ्गखोलामा माछा मार्ने क्रममा भिरगाउँका मंगलसिंह जिम्बाको ज्यान गयो । पछिल्लो समय करेन्ट लगाएर माछा मार्ने क्रम सिन्धुलीमा बढेको छ । जसले गर्दा नदी र खोलामा माछा पाउनै छाडेको स्थानीयहरु बताउँछन् ।

जाल हान्ने र पासो थापेर माछा मार्ने परम्परागत मौलिक तरिका हो । तर, दुई वर्ष अघि सम्म प्रसस्त माछा भेटिने कमला नदीमा अहिले दिनभर खोज्दा पनि एक छाक माछा भेट्न मुस्किल पर्ने गरेको दुधौली नगरपालिका वडा नम्बर–३ का कन्य थारु(दनुवार)ले बताउनुभयो । नदीमा करेन्ट लगाउने, विष हाल्ने लगायत मानवीय गतिविधि बढेपछि माछा संकटमा पर्न थालेका छन् । “पहिले नदी भरि माछा नै माछा देखिन्थे,अहिले दिनभर जाल खेल्दा पनि एक छाक भेटाउन मुस्किल पर्छ”, उहाँले भन्नुभयो ।

स्थानीयवासीका अनुसार विगतमा साना खोलामा पनि जताततै देख्न सकिने विभिन्न जातका माछा पछिल्लो समय धेरै संख्यामा घटेका छन् । पहिला दुधौली क्षेत्रका दनुवार समुदायको जिविकोपार्जन गर्ने आधार माछा हुन्थ्यो । सजिलै मार्न पनि सकिन्थ्यो तर अहिले दिनभर खोला चहार्दा समेत एक छाक पाउन मुस्किल हुने गरेको कमला नदीमा माछालाई जाल हान्दै गरेका निशान धामी(दनुवार)ले बताउनुभयो ।

उहाँले करेन्ट र विषको असरले जिल्लाको अधिकांश खोलामा माछा सकिएको बताउनुभयो । पछिल्लो समय जथाभाबी नदीको दोहन हुन भएकाले पनि माछामा कमी आएको उहाँको भनाई छ । नदीमा पानीको बहाव घट्नु, करेन्ट लगाइनु, पानी दूषित हुनु लगायत कारणले दिन प्रतिदिन माछाको संख्या घटदै गएको छ । उहाँले भन्नुभयो,“नदीमा जथाभावी डोजर प्रयोग गरिँदा पनि स्थानीय माछा लोप हुन थालेका छन् ।”

माछा मार्नका लागि जाल हाल्ने, निया हाल्ने,बल्छी खेल्ने र ढँडिया राख्ने चलन पछिल्लो समय हराउँदै गएको छ । केही वर्षयता नदीमा करेन्ट लगाउने र विषादी प्रयोग गर्ने क्रम बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ । स्थानीय नदी,खोलामा माछाको संरक्षण गर्न सरोकारवाला निकायको समयमै ध्यान जानुपर्ने स्थानीयवासीहरुले बताएका छन् ।

प्रतिक्रिया