बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

सिन्धुलीगढीलाई कुरुप नबनाऊ

मंगलवार , कार्तिक ५, २०७६

कमलामाई नगरपालिकाले एक करोड ५० लाख विनियोजन गरेर गढी क्षेत्रको मर्मत गरेपनि ती संरक्षणाहरुको संरक्षण नगर्दा सिन्धुली गढी कुरुप बन्दै गएको छ । सैनिक कमाण्डरको तस्वीरसहितको परिचय, स्थान परिचय दिने बोर्डहरु धमिलिएका छन् भने स्तम्भमा झाँडी पलाएको छ । एतिहासिक सिन्धुलीगढीमा इतिहास दर्शाउने कुनै संरक्षणा छैन । तर पनि आन्तरिक पर्यटनबाटै चार महिनामै ६ लाख रकम उठेको छ । नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा संरक्षणा हेर्नकालागि केहि छैन तर पनि पर्यटकहरु त्यहाँको वातावरणसँग रमाउन आउँछन् । नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण मानिने सिन्धुलीगढीको व्यवस्थापन गर्नसकेमात्र पनि तत्कालको लागि धेरै राजश्व उठाउन सकिन्छ । समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा रहेको सिन्धुलीगढी क्षेत्रमा प्रवेश शुल्क ५० रुपैँया राखिएको छ । त्यसैगरि, अन्तर्राष्ट्रिय पर्यटकहरुकालागि १०० रुपैँया तोकिएको छ । प्रवेश शुल्क उठाएर सिन्धुलीगढीको व्यवस्थापन हुनुपर्नेमा यत्रतत्र फाहोर थुप्रिएका छन् । सिन्धुलीगढीको व्यवस्थापनमा देखिएको कमिकमजोरिका कारण पर्यटकहरु दोहोरिएर नआउने अवस्था सिर्जना हुदैँछ । तसर्थ, नगरपालिकाले सरसफाई र व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ ।

२०७७ असार मसान्तसम्म सिन्धुलीगढीमा राष्ट्रिय स्तरको नमुना एकीकरण संग्राहलय निर्माण गर्ने नेपाली सेनाको योजना छ । दिर्घकालिन योजनालाई हेर्ने हो भने संग्राहलय निर्माण देखि सिन्धुलीगढी पुनःनिर्माणका योजनाहरु छिट्टै बन्ने देखिन्छ । कमलामाई नगरपालिकाका दीर्घकालिन योजनाहरुले समग्र सिन्धुलीको पर्यटकिय विकासमा फड्को मार्नेनै छ । ती योजनाहरुलाई भित्र्याउनकालगि कमलामाई नगरपालिकाले खेलेको भुमिका सराहनिय छ । तर, तत्कालकालागि भने एतिहासिक सिन्धुलीगढीको व्यवस्थापनमा नगरपालिकाले ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया