शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सामुदायिक विद्यालयमा पढाइ शिविर

शुक्रवार , कार्तिक १, २०७६

जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा पढाई शिविर सञ्चालन गरिएपछि बालबालिकाको लेखपढमा सुधार आउन थालेको छ ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि पढाई शिविर सञ्चालन गरिएपछि आधारभुत तह अन्तर्गत कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने बालबालिकाको लेखपढमा सुधार आएको हो । पढाइ शिविरले बालबालिकामा पढ्नेलेख्ने बानीको विकास भइ राम्रो प्रभाव देखिएपछि निरन्तरता दिईएको गाँउपालिकाले जनाएका छन् ।

गाँउपालिकाका अनुसार पढाइ शिविर सञ्चालन भएका सामुदायिक विद्यालयका आधारभुत तहका विद्यार्थीहरुले नेपाली अक्षर चिन्न र लेख्नका लागि शनिबार दुइ घण्टा कक्षा सञ्चालन हुन्छ । बिभिन्न प्ले कार्ड, चित्र बनाएर अक्षर चिनाउने र लेखाउने गरिन्छ । बालबालिकालाई घरमा समेत पढ्ने बातावरण मिलोस भनेर शिविर अन्तर्गत नै पढाइ कुनो निर्माण गरिएको हुन्छ । बालबालिकालाइ पढाइ शिविरमा खाजाखान समेत दिने गरिएको छ । त्यसको लागि सबै पढाइ शिविरमा स्वयंसेविका राखिएको हुन्छ ।

“पहिले सिड्स नेपाल लगायतका सामाजिक संस्थाको सहयोगमा विद्यालयहरुमा पढाइ शिविर सञ्चालन हुन्थ्यो, उनीहरुले हात झिकेपछि कार्यक्रम राम्रो लागेर गाँउपालिकाले निरन्तरता दिएका छ”, गोलान्जोर गाउ“पालिका अध्यक्ष पुष्पबहादुर कार्कीले भने, “राम्रो कामको अनुशरण गर्दा परिणाम पनि राम्रै निस्किने आस छ ।”

पढाई शिबिरलाई निरन्तरता दिन गोलन्जोर गाउपालिकाले १० लाख रुपैयाभन्दा बढि रकम बिनियोजन गरेको उनले सुनाए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर भएपछि आधारभुत तहदेखिनै शिक्षा सुधार गर्नका लागि कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरि पढाई शिविर सञ्चालनमा ल्याएको गाउपालिकाहरुले जनाएका छन् ।

गाँउपालिका अध्यक्ष कार्कीले पढाइ शिविरले विद्यार्थीमा शैक्षिक सुधार आउन थालेपछि गाउ“पालिका आफैले यो कार्यक्रम विद्यालयमा सञ्चालन गरेको र यसले पढाईमा सुधार आउने बताउनुभयो । गोलान्जोर गाँउपालिकाका ३२ वटा विद्यालयमा पढाइ शिविर सञ्चालनमा छन् । तीनपाटन गाँउपालिकामा ३६ वटा विद्यालयमा पढाई शिविर सञ्चालनमा छन् ।

तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर मगरले २० वटा गाँउपालिका आफैले र १६ वटा गैरसरकारी संघसंस्थाको सहयोगमा सञ्चालन भएको जानकारी दिए । अभिभावकलाई पनि बालबच्चाले दुःख नदिने र विद्यालयमा आएर केहि सिक्ने अवसर बालबालिकाले पाउने भएकाले पढाई शिविर सञ्चालन गरिएको उनको भनाई छ । “हामी शिक्षा क्षेत्रको सुधार गर्न लागि परेका छौ, त्यहि शिक्षा क्षेत्रको सुधार गर्ने क्रममा विद्यालयमा पढाई शिविर सञ्चालन भएको हो,” उनले थपे । सामुदायिक विद्यालयहरुलाई नीजि जत्तिकै अब्बल बनाउन गाँउपालिका जुटेका हुन् ।

तीन बर्ष पहिलेदेखि सिड्स नेपाल नामक संस्थाले गरेको पढाई शिविर कार्यक्रमले शिक्षा सुधारमा सहयोग पुगेकाले उक्त कार्यक्रम गाँउपालिकाबाटै बजेट विनियोजन गरि निरन्तरता दिएको उनको धारणा थियो ।

गोलान्जोर गाउपालिका–६ देउरालीटारकी लक्ष्मी श्रेष्ठ पनि पढाई शिविरले बालबालिकाको लेखपढमा निकै सुधार ल्याएको बताइन । उनले भनिन, “मेरो नौ बर्षिय नाती मिलन गाँउकै विद्यालयमा कक्षा ३ मा पढ्छ । साँवा अक्षर राम्रोसँग फड्कार्न नजान्ने अहिले फरर पढ्न र लेख्न सक्ने भएको छ । यो परिवर्तन पढाई शिविरले नै ल्याएको हो ।” आफ्नो नातीको पढाईमा आएको प्रगती देखेर उनि मख्ख परेकी छिन ।

पढाई शिविर अन्तर्गत शनिबार पनि कक्षा सञ्चालन हुने गरेको उनले सुनाइन ।

प्रतिक्रिया