सिन्धुलीमा नेपाली सेनाको श्री बर्द बहादुर गणले निर्माण गरेको रात्रीकालिन अवतरण तथा उडान क्षमताको हेलिप्याड बुधवार समुद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
जिल्लाको कमलामाई नगरपालिका–६ माझीटार भित्र नं.९ बाहिनी अड्डामा निर्माण भएको हेलिप्याड पृतनापति उपरथी ताराध्वज पाण्डे,कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्री,प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले स्वस्ती बाचन गरेर उद्घाटन गरेका छन् ।

कमलामाई नगरपालिकाको ६ लाख ५० हजार सहयोग तथा नेपाली सेनाको श्री बर्द बहादुर गणको पहल र परिश्रममा निर्माण भएको हेलिप्याड नगर प्रमुख खत्रीले बर्द बहादुर गणलाई हस्तान्तरण गरेका हुन् । कमलामाई नगर प्रमुख खत्रीले हेलिप्याडको विगत र हालको अवस्था चित्र बोर्ड बर्द बहादुर गणका गणपति प्रमुख सेनानी राजिव थापालाई हस्तान्तरण गरेका थिए ।
सेनाले पुरानो हेलिप्याड रहेको स्थानमा नै नयाँ हेलिप्याडको निर्माण गरेको गणपति राजिव थापाले बताए । उनका अनुसार पुरानो हेलिप्याडमा रात्री अवतरण हुन सक्दैन थियो । रात्रि अवतरण हेलिप्याड निर्माण भएसँगै अव रातको समयमा पनि हेलिप्याडको अवतरण तथा उडान हुने छ ।
विपद् व्यवस्थापन क्षमता अभिबृद्धि गर्ने कार्य बमोजिम गणले कमलामाई नगरपालिकासँग समन्वय गरि रात्रि अवतरण हेलिप्याड श्री नं ९ बाहिनी अड्डाको हाताभित्र निर्माण गरेको छ । हेलिप्याड जंगि अण्डाले तोकेको मापदण्ड अनुसार आकार,प्रकार र गुणस्तर बमोजिम तयार भएको छ ।

“अनुमानित लगत करिव २२ लाख निर्धारण गरिएको भएपनि कमलामाई नगरपालिकाको ६ लाख ५० हजार सहयोगमा पुर्ण मितव्यता अपनाई थोरै लगानी बाट धैरै नतिजा निकाल्ने अवधारण अनुरुप बर्द बहादुर गणको परिश्रममा तयार गरिएको हो” , गणपति थापाले भने ।
हेलिप्याडमा वाइन्ड कोन, लाइटिङ,हेलिकप्टरको इन्ट्री र एक्जिट प्वाइन्ट राखिएकोे छ । बत्ती आइकाओ मापदण्डको राखिएको गणले जनाएको छ । रातिको समयमा बल्ने र उज्यालो भएपछि निभ्ने भएकाले राति अवतरणमा समस्या नहुने गणपति थापाले बताए । उनले विजुली बत्तिको सुविधा नभएका समयमा बत्ती सोलारबाट सञ्चालन हुने जानकारी दिए ।
हेलिप्याड जिल्लाको विपद् व्यवस्थापन क्षमता अभिबृद्धि गर्न संचालन गरिएको बताउँदै गणपति थापाले हेलिप्याड कुनै पनि आपत् विपद् पर्दा सैनिक र गैह्र सैनिक व्यक्तिहरुलाई तत्काल उद्धार कार्यमा प्रयोग हुने बताए । निकट भविष्यमै सम्बन्धि विभागमा पत्राचार गरि टेस्ट लन्डिङ गराईने र सफल परिक्षण पछि हेलिप्याड प्रदेश ३ कै उदाहरणीय हुने उनको भनाई छ । निर्माण भएकोे हेलिप्याडमा सर्वसाधारणको समेत पहुँच रहने छ ।

सामान्य अबस्थामा सिभिल हेलिकप्टर कम्पनीले हेलिप्याड प्रयोग गर्न स्विकृत लिनु पर्ने भएपनि आपतकालिन अवस्तामा स्विकृत नलिई प्रयोग गर्न सक्ने गणपती थापाले बताए ।
जिल्लाको भौगोलिक विकटता,जीर्ण सडक र एम्बुलेन्सको अभावका कारण जटिल खालका बिरामीलाई समयमा अस्पताल पुर्याउन समस्या हुँदै आएको छ । विपद्को समयमा सवारी साधनबाट लैजानका लागि सम्भव नभएकोले हेलिप्याडको निर्माणले सहज हुने हेलिप्याड समुद्घाटन तथा हस्तान्तरण कार्यक्रमका सहभागिहरुले बताए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक चक्रबहादुर सिंह,कमलामाई नगरपालिकाका प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी,सामाजिक विकास अधिकृत सागर कुमार ढकाल,नेपाली सेना लगाएत पत्रकारहरुको उपस्थित रहेको कार्यक्रममा हेलिप्याड निर्माणर्थ आर्थिक सहयोग गर्ने कमलामाई नगरपालिलाई प्रंससा पत्रले सम्मान गरिएको थियो । प्रसंसा पत्र नगर प्रमुख खत्रिले पृतनापतिको हातबाट लिए । यसै गरि हेलिप्याड निर्माण कार्यमा अहोरात्र खटिएका श्री बर्द बहादुर गणका सेनानी कुमार थापालाई प्रसंसा पत्रले सम्मान गरिएको थियो । उनले श्रि मध्य पृतनाका पृतनापतिबाट प्रसंसा पत्र लिएका हुन् ।