लीलानाथ घिमिरे संचार र साहित्यका क्षेत्रमा परिचित नाम हो । सिन्धुलीलाई कर्मक्षेत्र बनाएर उनले लामो समय पत्रकारिता गरे । राजधानी छिरेपछि उनले सूचना प्रविधिबारे कलम चलाउने लोकप्रिय पत्रकारका रुपमा युवाहरूबीच आफूलाई परिचित बनाए । सूचना प्रविधिको विकास नभएका बेला हातले लेखेर, हुलाकबाट समाचार पठाएको आफ्नै अनुभव भएका उनी अहिले सूचना प्रविधिमै कलम चलाउँछन् । उनले सिन्धुलीमा पहिलो दैनिक पत्रिकका प्रभातफेरिको प्रकाशन सुरु गरेका हुन् । प्रभातफेरि अहिले प्रभात समाचार नाममा प्रकाशन भइरहेको छ । उनले सिन्धुलीबाट पहिलो पाक्षिक पत्रिका सिन्धुलीगढीको पनि प्रकाशन सुरु गरेका हुन् । पछि यो पत्रिका साप्ताहिक भयो । उनकै सम्पादकत्वमा सिन्धुलीबाट जनप्रभात साप्ताहिक प्रकाशन भयो ।

उनले कान्तिपुर दैनिकमा २२ बर्ष काम गरे । त्यहाँ कार्यरत रहँदा उनले ५ हजारभन्दा बढी समाचार/लेख प्रकाशन गरिसकेका छन् । उनले कान्तिपुरका लागि अमेरिकामा पुगेर पनि समाचार लेखे । केही समय उनले अमेरिकामा बसेर पनि पत्रकारिता गरे । त्यहाँ रहँदा उनी न्युयोर्कबाट प्रकाशन हुने नेपालय पत्रिकाको सम्पादक थिए । उनले नेपालको लोकप्रिय अनलाइन अनलाइन खबर र कारोबार दैनिकमा अमेरिकाबाट रिपोर्टिङ गरे । नेपाल फर्केपछि उनले अर्थसंसार डटकमको प्रधान सम्पादक भएर पत्रकारिता गरे । अहिले उनी युवालाई लक्षित गरेर संचालन गरिएको युवापोष्ट डटकमका प्रधान सम्पादक छन् ।
उनी पत्रकारितासँगै वकालत (कानुन) ब्यवसायलाई पनि अघि बढाइरहेका छन् । उनले कैयौं निमुखालाई न्याय दिलाउन पहल गरेका छन् ।
उनले केही युवाहरूसँग मिलेर सिन्धुलीलाई समृद्ध बनाउने आन्दोलन ‘समृद्ध सिन्धुली अभियान’ सुरु गरेका छन् । उनी उक्त अभियानका संयोजक हुन् । सिन्धुलीमा जन्मे हुर्केर काठमाडौंलाई कर्मक्षेत्र बनाउँदै आएका युवाहरुले संचालन गरेको स्वयंसेवी अभियान हो 'समृद्ध सिन्धुली' । यस अभियानले सिन्धुलीलाई चिनाउन 'राइड थ्रु सिन्धुलीगढी' साइकल यात्रा, महाभारत पदमार्गको अध्ययन, सिन्धुलीका दुइवटा गढी हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने एकिकरण पदमार्ग अध्ययन तथा निर्माणलगायतको काम गर्दै आएको छ । अभियन्ता घिमिरे आफूलाई चिनाउने जिल्लाका लागि केही गर्नुपर्छ भनेर निस्वार्थ भावले सक्रिय भएर लागिरहेका छन् ।
उनले सिन्धुली उद्योग बाणिज्य संघले प्रदान गर्ने 'उत्कृष्ट पत्रकार पदक,' द रेयुकाइ नेपालले आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगिता प्रथमको पदक, 'वी.डी. त्यागी स्मृति पदक' र युनिभर्सल पिस फेडरेशन अमेरिकाद्वारा ‘शान्ति दूत’ पदक पाएका छन् । उनी अनौपचारिक साहित्यिक मञ्च रामेछाप, नेपाल पत्रकार महासंघ, लियो क्लवलगायत दजनौं संघसंस्थाबाट सम्मानित भएका छन् । उनले कैयौं प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
उनले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको सभापतिका रुपमा दुई कार्यकाल नेतृत्व गरे । पत्रकार महासंघमा संलग्न भएदेखि उनी निरंतर केन्द्रीय सभासद्का रुपमा छन् ।
कथा, गीत, गजल कविता सिर्जनामा पनि उनको कलम चल्छ । उनको सिन्धुलीयन एल्बममा समाबेश भएको ‘समयलाई जित्छु...’ गीत लोकप्रिय छ । उनले सिन्धुलीका तेह्र तारा कृतिको सहलेखन गरेका छन् । एमए, बिएड, बिएल अध्ययन सकेका उनले अमेरिका, थाइल्यान्ड, ताइवान, दक्षिण कोरियालगायतका मुलुकको भ्रमण गरेका छन् । उनै लीलानाथ घिमिरेसँग सिन्धुली सौगातले गरेको कुराकानी ।
आजकल के गर्दै हुनु हुन्छ ?
पछिल्लो समय म पत्रकारितासँगै, वकालत र समाज सेवामा सक्रिय छु । अनलाइनमा समाचार लेख्ने, सम्पादन गर्ने मेरो मुख्य जिम्मेवारी हो । अरु पत्रपत्रिकाले पनि सूचना प्रविधिसम्बन्धि लेख माग्छन् । तिनीहरूलाई पनि लेखिदिनै प¥यो । कानुन ब्यवसायमा अन्यायमा परेकाहरुलाई न्याय दिलाउन कागजात तयार गर्नेदेखि वकालत गर्नेसम्मको काम गर्दै आएको छु । त्यसबाहेक हामीले सुरु गरेको समृद्ध सिन्धुली अभियानका गतिविधिहरूमा सहभागी हुँदै आएको छु । भर्खरै हामीले सिन्धुलीको हरिहपुरगढीदेखि सिन्धुलीगढी जोड्ने पदमार्गको पहिलो खण्ड (१५ किलोमिटर) निर्माण गर्यौं । त्यसका लागि झण्डै २ महिना म फिल्डमै बसेँ । अहिले हामी 'राइड थ्रु सिन्धुलीगढी' को तयारीमा छौं । त्यसबाहेक समय मिलेमा कथा, गजल, गीत लेखनमा विताउँछु ।
दुई दशकदेखि पत्रकारितामा हुनु हुन्छ । फर्केर हेर्दा आफूलाई कहाँ पाउनु हुन्छ ?
पत्रकारिता सुरुमा मेरो रहर थिएन । जागिर खोज्ने क्रममा संयोगले पत्रकारितामा हाम्फालेको थिएँ । त्यतिखेर मलाई पत्रकारिताबारे सामान्य जानकारी समेत थिएन । लेखनमा मेरो रुची थियो । त्यही रुचीले पत्रकारितामा मलाई सघायो । त्यतिखेर सूचना प्रविधिको विकास भएको थिएन । समाचार पठाउने फ्याक्स, टेलिफोन, हुलाक र कुरियरजस्ता माध्यम मात्र थिए । रिल हालेको क्यामेराले फोटो खिचेर धुलाएर हुलाकमार्फत मात्र फोटो पठाउन सकिन्थ्यो । त्यसैले ताजा घटनाको फोटो छाप्न सम्भव थिएन । मैले सिन्धुली बसेर १० बर्ष पत्रकारिता गर्दा माओवादी जनयुद्ध कालमा विस्फोटमा परेको एउटा बसको मात्र फोटो इमेलबाट पठाउन सके । त्यतिखेर डायलअप इन्टरनेटबाट एउटा फोटो पठाउँदा १ सय रुपैया तिर्नु परेको याद ताजै छ ।
त्यतिखेर धेरैले पत्रकारिताको महत्व बुझेका थिएनन् । जिल्लामा बसेर रिपोर्टिङ गर्दा शिक्षा, स्वास्थ्य, सामाजिक विषय, आर्थिक, खेलकुद लगायत जुनसकै बिटका समाचार लेख्नु पथ्र्यो । सम्बाददाता सबै विषयको विज्ञ हुनु पथ्र्यो ।
अहिले त्यस्तो छैन । सूचना प्रविधिले पत्रकारितालाई प्रतिस्पर्धी बनाएको छ । पलपलको समाचार अनलाइनबाट अपडेट हुने गरेको छ । पत्रिकामा समाचार दिन फरक एंगलले लेख्नु पर्ने अबस्था छ । राजधानी छिरेपछि मैले आफूलाई एउटै बिषयमा अपडेट गरे पुगेको छ । अहिले मैले सूचना प्रविधि विषयमा कलम चलाउदै आएको छु । यही बिटले मलाई युवाहरुबीच चिनाएको छ । धेरैले प्रविधिका कुरा बुझ्न मलाई सोध्छन् । सामाजिक संजालको विकासले मेरो लेखनलाई विश्वब्यापी रुपमा विस्तार गर्न सघाएको छ । त्यसमा म पूर्णतः सन्तुष्ट छु ।
समाचार लेखनसगै सामाजिक काममा पनि सक्रिय हुनु हुन्छ । समृद्ध सिन्धुली अभियानका अभियन्ताका रुपमा क्रियाशिल हुनु हुन्छ । के हो समृद्ध सिन्धुली अभियान ?
सिन्धुलीमा जन्मेर हुर्केको भएकाले आफ्नो जन्मभूमिप्रति हाम्रो केही दायित्व हुन्छ भनेर केही युवा मिलेर अभियान सुरु गरेका हौं । सिन्धुलीलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर योजना बनाउने, सिन्धुलीको राष्ट्रिय/अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन गर्ने, सिन्धुलीका युवालाई सक्षम बनाउने, लगानी भित्र्याउने, शिक्षा, स्वास्थ्य, कृषि, ब्यवसाय, पर्यटनका क्षेत्रमा सघाउने, सिन्धुलीमा जन्मेर देश÷विदेशमा रहेका विभिन्न क्षेत्रका ब्यक्तिको क्षमतालाई आफ्नो जन्मभूमिको समृद्धिमा लगाउन प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो । हामीले सिन्धुली र काठमाडौंमा सिन्धुलीलाई माया गर्ने ब्यक्तिहरूको पटकपटक भेला गरेर झक्झक्याउने काम गरेका छौं । त्यस्तै गुगलको सहयोगमा सिन्धुलीको डिजिटल फुटप्रिन्ट बढाउन पत्रकारहरूलाई म्यापिङ÷मल्टिमिडिया तालिम, लगानीका क्षेत्र पैल्याउन ‘इन्भेस्ट सिन्धुली’ कार्यक्रम गरिसकेका छौं । त्यस्तै काठमाडौंमा बस्ने विभिन्न क्षेत्रका ब्यवसायिक ब्यक्तित्वहरूलाई समेटेर बनभोज आयोजना गरि अभियानबारे जानकारी गरायौं ।
हामीसँग दुई वटा ऐतिहासिक गढीहरु छन् । सिन्धुलीगढीमा हरेक बर्ष विजयोत्सव मनाइन्छ । हामीले विजयोत्सवका अबसर पारेर सिन्धुलीगढीको प्रबर्धन गर्न काठमाडौंबाट गढीसम्म साइकल र्याली सुरु गर्यौं । अहिले सिन्धुलीगढीमा बिजय हासिल गरेको मितिमा विवाद आएपछि हामीले इतिहासविद्हरुलाई भेला पारेर काठमाडौंमा छलफल गर्यौं । सबैले असोज १५ मा विजय हासिल गरेको भन्ने प्रमाणिक इतिहास रहेको बताएपछि हामीले पहिलो पटक यस बर्षदेखि असोज १५ का दिन सिन्धुलीगढीमा विजय दिवस मनाउन सुरु गरेका छौं । यस बर्ष नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग मिलेर कला शिविरको आयोजना गर्यौं । यसअघि हामीले पर्यटन बोर्डमा सिन्धुलीका विभिन्न पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी आयोजना गर्यौं । सिन्धुलीलाई चिनाउन विभिन्न गतिविधि गर्दै आएका छौं ।
पत्रकारिता, कानुन ब्यवसायबाहेक तपाईं अरु साहित्यिक सिर्जनामा पनि क्रियाशिल हुनु हुन्छ । कसरी समय निकाल्नु हुन्छ ?
पत्रकारिता र कानुन ब्यवसाय मेरो पेशा हो भने साहित्य मेरो रुचीको क्षेत्र हो । मैले स्नातकोत्तर नेपाली साहित्यमा गरेको हुँ । मैले त्यतिखेर सोधको सट्टा कथा संग्रह सिर्जना गरेको थिएँ । त्यस्तै गजलको संग्रह प्रकाशन गर्न पुग्ने गरी सिर्जना तयार भएका छन् । कहिलेकाही गीत लेख्ने मुड चल्छ । केही साथीहरुसँग मिलेर मैले सिन्धुलीयन एल्बम निकालेँ ।
यसमा पूर्ण समय दिन सकेको छैन । फूसर्द हुँदा साहित्य सिर्जनामा समय दिने गरेको छु । समयमात्र भएर सिर्जना हुदैन । त्यसअनुसारको मुड पनि हुनु पर्छ । मुड चल्नासाथ लेख्ने गरेको छु ।
राजधानीमा गएर पत्रकारिता गरेको पनि १६ बर्ष वितिसकेछ । तपाईंले छाडेपछि सिन्धुलीको पत्रकारितालाई कुन रुपमा पाउनु भएको छ ?
मैले छाडेपछि सिन्धुलीमा पत्रकारिताको निकै विकास भएको पाएको छु । सिन्धुलीबाट दैनिक पत्रिका, एफएम रेडियो, साप्ताहिक पत्रिका, अनलाइनको बाढी आएको छ । यद्यपि पत्रकारिताले ब्यवसायिक भने रुप लिन सकेको छैन । विज्ञापनबाट चल्नु पर्ने संचारमाध्यम आर्थिक क्षेत्रको विकास नहुदा चरम अभाव झेलिरहेका छन् । आफ्नै कमाइले पत्रकारिता गर्न नसक्ने अबस्थामा निश्पक्ष, ब्यवसायिक पत्रकारिता फस्टाउन सक्दैन । यसका लागि स्थानीय तहहरुले पत्रकारिताको विकासमा बजेटको ब्यवस्था गर्नु आवश्यक छ । संचारको विकासलाई विकास मान्ने गरिएको छैन । संचार क्षेत्रको विकासले भौतिक विकासमा ठूलो फड्को मार्न सक्छ भन्ने राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरूले बुझ्न आवश्यक छ ।
तपाईंले पत्रकारिता गरेरै देश/विदेशको भ्रमण गर्ने अबसर पाउनु भयो । तपाईं पत्रकारिता पेशाबाट सन्तुष्ट हुनुहुन्छ ?
मोफसलमा मात्र हैन, राजधानीमा समेत ब्यवसायिक पत्रकारिता फस्टाउन सकेको छैन । केही सीमित संचार माध्यमबाहेक अरुले पत्रकारलाई आफैं कमाएर खाऊ भन्ने गरेका छन् । संयोग मान्नु पर्छ, मैले नेपालको पत्रकारिताको आइकनका रुपमा रहेको कान्तिपुरमा सुरुदेखि काम गर्ने अबसर पाएँ । त्यसैले मैले पत्रकारितालाई सहायक पेशा बनाउनु परेन । मलाई मेरो प्रकाशन गृहले परिवार पाल्न पुग्ने गरी पारिश्रमिक दिएको थियो । त्यसबाहेक मुलुककै विभिन्न भागका साथै विदेशमा गएर रिर्पोटिङ गर्ने अबसरसमेत मैले पाएँ । मैले अमेरिकाको विभिन्न शहर घुमेर रिपोर्टिङ गर्ने अबसर पाएँ । त्यसअघि दक्षिण कोरिया, भारतलगायतका मुलुकमा गएर पनि रिपोर्टिङ गरेको थिएँ । त्यसैले मलाई पत्रकारितामा लागेर सन्तुष्टि मिलेको छ ।
तपाईंले अमेरिकामा बसेर समेत पत्रकारिता गर्नुभयो । नेपालको र अमेरिकाकाको पत्रकारितामा के फरक पाउनु भयो ?
नेपाल र अमेरिकाको पत्रकारितामा आकाश जमिनको फरक छ । नेपालमा अझै प्रिन्ट मिडिया चलेकै छन् । अमेरिकामा प्रिन्ट मिडिया प्रकाशन बन्द नै नभए पनि तिनीहरुको खासै चर्चा छैन । हुनतः म बसेको अमेरिकाको न्युयोर्कमा नेपाली भाषाका आधा दर्जनभन्दा बढी पत्रपत्रिका प्रकाशन हुन्छन् । मैले 'नेपालय' पाक्षिकको सम्पादकको भूमिका निर्वाह गर्ने अबसर पाएँ । त्यहाँ प्रकाशन हुने पत्रपत्रिका विक्री हुँदैनन् । बाटोबाटो, स्टोरहरुमा लगेर छाडिएको हुन्छ । जसलाई पढ्न मन लाग्यो, उसले उठाएर लैजान सक्छ । त्यहाँका मानिसलाई पत्रपत्रिका पल्टाएर पढिरहने फुर्सदै छैन । उनीहरु बसमा, ट्रेनमा यात्रा गरिरहेका बेला मोवाइल, ट्याब्लेट, आइप्याडमा पढिसक्छन् । त्यसैले त्यहाँ अनलाइनलाई समाचारको मुख्य स्रोत मानिन्छ । नेपालबाट धेरै पत्रकारहरु अमेरिका पुगेका छन् । उनीहरुमध्ये थोरैले मात्र पत्रकारितालाई निरंतरता दिएका छन् । पत्रकारिता गर्नेहरुको पनि मुख्य पेशा यो होइन । उनीहरु पूरा समय अन्यत्र दिएर आंशिक समय (पार्ट टाइम) मात्र पत्रकारिता लाइ दिएका छन् ।
अधिकांश पत्रकार अमेरिका पुगेपछि फर्कँदैनन् । तपाईं भने त्यत्रो अबसर छाडेर नेपालमै रमाउनु भएको छ । किन ?
मलाई अमेरिका नराम्रो लागेर फर्केको हैन । मेरा लागि नेपालमै अबसर छ भने विदेश किन जाने भनेर बसेको हुँ । म यहाँ पत्रकारिता, वकालत र समाजसेवालाई सँगसँगै लगिरहेको छु । म अमेरिकामा पत्रकारिता मात्र गरेर बाँच्न सक्दिन । मैले त्यहाँ कुनै स्टोर वा रेष्टुरेन्टमा काम खोज्नै पर्छ । त्यसो गरी पत्रकारितालाई निरंतरता दिनुभन्दा यहाँ केही नगरी पनि पत्रकारितालाई निरंतरता दिन सकिन्छ भनेर फर्केको हुँ । यहाँ मैले अबसर धेरै देखेको छु । अमेरिका कस्तो रहेछ भनेर देखिहालियो । अहिले यहीँ रमाइलो लागेको छ ।