सिन्धुली । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारहरूको पेशागत हकहित तथा अधिकार सुनिश्चितताको माग गर्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको दोस्रो चरणको आन्दोलनअन्तर्गत सिन्धुलीमा पनि धर्ना कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेको हो । महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार धर्ना बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ ।
महासंघ सिन्धुली शाखाका सचिव नवीनबाबु अधिकारीद्वारा जारी सूचना मार्फत जिल्लामा क्रियाशील पत्रकारहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ । सूचनामा महासंघका पदाधिकारी, पूर्वसभापति, सदस्य तथा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई धर्नामा उपस्थित हुन आह्वान गरिएको छ ।
प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको पेशागत अधिकारको सुनिश्चितता तथा सञ्चार क्षेत्रका सरोकारलाई सम्बोधन गराउने उद्देश्यसहित महासंघले आन्दोलन अघि बढाएको जनाएको छ । दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी बनाउन पत्रकारहरूको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको शाखाले उल्लेख गरेको छ ।
महासंघले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र पेशागत मर्यादाको पक्षमा आयोजित कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरूको सहभागिताले आन्दोलनलाई थप सशक्त बनाउने अपेक्षा गरेको छ ।