बीपी राजमार्गमा सडकबाट ३० मिटर तल खसेका युवकको उपचारका क्रममा मृत्यु

शनिवार , मंसिर १२, २०८३

सिन्धुली,१२ मंसिर — बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ चियाबारीमा मोटरसाइकल रोकेर सडक किनारमा गएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । मोरङबाट काठमाडौं जाँदै गरेका २७ वर्षीय प्रिन्ज भण्डारीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्राप्त विवरणअनुसार २०८३ मंसिर ८ गते राति १२ः५० बजे भण्डारीले बा.प्र. ०२–०२३ प २४७७ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकेका थिए । चुरोट सेवन गर्न मोटरसाइकलबाट ओर्लिएर सडक किनारतर्फ जाने क्रममा उनी अचानक सडकबाट करिब ३० मिटर तल खसेका थिए ।

दुर्घटनामा निधार र टाउकोमा चोट लागेका भण्डारीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो । त्यतिबेला उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको विवरणमा उल्लेख छ । 

प्रारम्भिक उपचारपछि राति २ः४५ बजे उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । त्यसपछि मंसिर ९ गते दिउँसो २ः१५ बजे थप उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पु¥याइएको थियो । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

शुक्रवार साँझ ५ः४१ बजे मेडिसिटी अस्पतालका चिकित्सकले भण्डारीलाई मृत घोषणा गरेका हुन् । अस्पतालमै रहेको उनको शवबारे सोही अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत जानकारी प्राप्त भएको प्रदेश प्रहरी कार्यालय हेटौडाले शनिवार जनाएको जनाइएको छ ।

सडक किनारमा मोटरसाइकल रोकेर गएका क्रममा भएको उक्त घटनामा युवकको ज्यान गएको हो। घटनासम्बन्धी विवरणमा दुर्घटनाको कारणबारे थप जानकारी उल्लेख गरिएको छैन ।

प्रतिक्रिया