सिन्धुली,१२ मंसिर – कमलामाई नगरपालिकामा जग्गाको कित्ताकाट सहज बनाउने प्रक्रिया अघि बढेको छ । भूउपयोग नक्सा तयार भइसकेको र त्यसअनुसार आवश्यक कित्तागत विवरण नापी विभागमा पठाइएको जानकारीले लामो समयदेखि रोकिएको जग्गासम्बन्धी कारोबार नियमित हुने अपेक्षा जगाएको छ । यद्यपि, कित्ताकाट पूर्ण रूपमा खुल्ने निश्चित मिति भने अझै तय भएको छैन ।
नापी कार्यालय सिन्धुलीका प्रमुख आशिष चालिसेका अनुसार कमलामाई नगरपालिकाको भूउपयोग नक्सा तयार भइसकेको छ । नक्साका आधारमा तयार गर्नुपर्ने कित्तागत विवरण नगरपालिकाले नापी विभागमा पठाइसकेको छ । अहिले विभागमा उक्त विवरण तयार गर्ने काम भइरहेको छ ।
विभागबाट कित्तागत विवरण प्राप्त भएपछि नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले त्यसलाई स्वीकृत गर्ने प्रक्रिया अघि बढाउनेछ । त्यसपछि सम्बन्धित जग्गाधनीलाई विवरणमाथि आफ्नो दाबी वा विरोध भए प्रस्तुत गर्न १५ दिने सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था छ ।
सूचना अवधिभित्र प्राप्त हुने उजुरी तथा दाबी–विरोधको आवश्यक निरूपण गरिनेछ । त्यसपछि स्थानीय भूउपयोग परिषद्ले कित्तागत विवरण स्वीकृत गरी पुनः सार्वजनिक सूचना जारी गर्ने प्रक्रिया पूरा गर्नुपर्नेछ ।
अन्तिम स्वीकृतिपछि भूउपयोग नक्सा र कित्तागत विवरण नापी कार्यालय, भूमि प्रशासन कार्यालयलगायत सम्बन्धित निकायमा पठाइनेछ । स्वीकृत विवरण सम्बन्धित कार्यालयमा प्राप्त भएपछि मात्र कित्ताकाटसहित जग्गासम्बन्धी नियमित प्रशासनिक कामकाज सञ्चालन गर्न कानुनी आधार तयार हुनेछ ।
कमलामाई नगरपालिकामा जग्गाको कित्ताकाट रोकिँदा जग्गाधनी, घरजग्गा व्यवसायी तथा सर्वसाधारण प्रभावित हुँदै आएका छन् । जग्गाको अंशबन्डा, बिक्री तथा अन्य प्रशासनिक कामका लागि कित्ताकाट आवश्यक पर्ने भएकाले यसको सहजताबारे चासो बढेको छ ।
हालको अवस्थाले प्रक्रिया अघि बढेको देखाए पनि नापी विभागबाट विवरण प्राप्त हुने समय, सार्वजनिक सूचना तथा स्वीकृतिका चरण पूरा हुन लाग्ने अवधि स्पष्ट भइसकेको छैन ।
त्यसैले कमलामाईमा कित्ताकाट कहिलेदेखि सहज हुन्छ भन्ने प्रश्नको ठोस जवाफ अझै प्रतीक्षामै छ । लामो समयदेखि अन्योलमा रहेका जग्गाधनीको समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय, प्रक्रियाको गति र पारदर्शिता निर्णायक हुने देखिन्छ ।