बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

इमरान रिहाइको मागमा इस्लामाबादतर्फ अघि बढ्दै हजारौँ समर्थक

बुधवार , आश्विन २१, २०८३

काठमाडौं ,२१,असोज –  पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)का हजारौँ समर्थकले राजधानी इस्लामाबादतर्फको मार्चलाई तीव्र बनाएका छन् ।

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीको नेतृत्वमा अघि बढेको प्रदर्शन संघीय सरकारले इस्लामाबादमा सभा तथा जुलुस गर्न नदिने चेतावनी दिए पनि जारी छ । संघीय सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि पीटीआईले आन्दोलनको नयाँ चरण सुरु गरेको हो । वार्तामा सरकारको आतंकवादविरोधी नीति तथा जेलमा रहेका इमरान खानसँग भेटघाट र पहुँच सुनिश्चित गर्ने विषयमा सहमति जुट्न सकेको थिएन ।

मार्च खैबर पख्तुनख्वाबाट चरणबद्ध रूपमा अघि बढिरहेको छ । कोहातमा रात बिताएको काफिला पेशावरतर्फ अघि बढेको छ । अक्टोबर ७ मा बुद्भैरबाट प्रस्थान गरी चरसाड्डा इन्टरचेन्ज आसपास रात बिताउने र अक्टोबर ८ मा पञ्जाब सीमासँग जोडिएको खैराबाद पुग्ने कार्यक्रम छ । मुख्यमन्त्री अफ्रिदीले खैराबाद पुगेपछि मात्र इस्लामाबादतर्फको अन्तिम चरणको रणनीति सार्वजनिक गरिने बताएका छन् ।

कोहातमा पीटीआई कार्यकर्तालाई सम्बोधन गर्दै अफ्रिदीले आन्दोलन लामो हुन सक्ने भन्दै समर्थकलाई उच्च सहनशीलता र निरन्तर परिचालनका लागि तयार रहन आग्रह गरेका थिए । ‘डन’का अनुसार उनले आन्दोलनलाई थकान नमानिकन निरन्तरता दिनुपर्ने बताएका छन् ।

यसैबीच, खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले प्रदर्शनकारीलाई पञ्जाबको अट्क नाकाभन्दा अगाडि बढ्न नदिने चेतावनी दिएका छन् । जिओ न्युजसँग उनले भनेका छन्, ‘उनीहरू अट्कभन्दा एक कदम पनि अगाडि जान सक्दैनन् ।’ उनले पीटीआईसँग मार्चलाई निरन्तरता दिन पर्याप्त संख्या र संगठनात्मक क्षमता रहेकोमा प्रश्न उठाउँदै सुरक्षासम्बन्धी जोखिमसमेत औँल्याएका छन् ।

आन्दोलनका क्रममा खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रमा धारा १४४ लागू गरी आवागमनमा प्रतिबन्ध लगाइएको छ । यसअघि पूर्वमुख्यमन्त्री अली अमिन गान्डापुर सडक अवरोध र सुरक्षा अवस्थाका कारण यारिकबाट फर्किएका थिए ।

सिन्धमा पनि पीटीआईका प्रदर्शन प्रभावित भएका छन् । पार्टीका अनुसार प्रान्तभर १०० भन्दा बढी कार्यकर्ता हिरासतमा परेका छन्, जसमध्ये कराँचीमा मात्रै ७५ भन्दा बढी पक्राउ परेका छन् । प्रहरीको बाक्लो तैनाथी र सडक अवरोधका कारण कराँचीमा निर्धारित प्रदर्शनहरू समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया