बुधवार, आश्विन २१ गते २०८३

Wednesday 7th October 2026

पत्रपत्रिकामा राखेर खानेकुरा खाँदा स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर

मंगलवार , आश्विन २०, २०८३

काठमाडौं,२० असोज – चटपटे,समोसा, पकौडा लगायत फास्ट फुड पत्रपत्रिका वा अन्य छापिएका कागजमा राखेर दिने चलन सामान्य देखिए पनि स्वास्थ्यका दृष्टिले यो सुरक्षित अभ्यास होइन । खानेकुरा छापिएको कागजसँग प्रत्यक्ष सम्पर्कमा आउँदा मसीमा रहेका रासायनिक पदार्थ तथा कागजमा जम्मा भएका धूलो, ब्याक्टेरिया र अन्य फोहोर खानेकुरामा मिसिन सक्ने जोखिम रहन्छ ।

यसै कारण विभिन्न देशले खाद्यवस्तु पस्किन वा प्याक गर्न पत्रपत्रिकाको प्रयोगमा कडाइ गरेका छन् । भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले समेत ग्राहकलाई पत्रपत्रिका अथवा प्लास्टिकमा यसरी खानेकुरा नदिन निर्देशन जारी गरेको छ ।

प्राधिकरणका अनुसार कागज छाप्न प्रयोग गरिने मसीमा विभिन्न रसायनका साथै सिसाजस्ता घातक धातु हुन्छन् । खानेकुरा कागजमा राख्दा ती हानिकारक तत्व खानेकुरामा मिसिन सक्छन् र खानासँगै शरीरभित्र पुग्न सक्छन् । स्वास्थ्यका दृष्टिले यस्तो सम्पर्क हानिकारक मानिन्छ ।

पत्रपत्रिका नयाँ भए पनि छपाइदेखि वितरण हुँदै पसलसम्म आइपुग्दा धेरै व्यक्तिको हात तथा विभिन्न स्थान र वातावरणसँग सम्पर्कमा आएको हुन्छ । त्यस क्रममा कागजमा नाङ्गो आँखाले सजिलै नदेखिने धूलो, ब्याक्टेरिया र अन्य फोहोर जम्मा हुन सक्छ । त्यसैले पत्रपत्रिकालाई  खानेकुराको बढी तेल सोस्न, खानेकुरा वा खाना पकाउने सामग्री छोप्न, खाना पस्किन वा पस्किने आधार बनाउन र खानेकुरा प्याक गर्न वा बेर्न प्रयोग गर्नुहुँदैच ।

पत्रपत्रिकाको मसीमा पाइने सिसा खानेकुरामार्फत शरीरभित्र पुगे कलेजोमा क्षति पु¥याउन सक्छ । रगतमा मिसिएपछि यसले शरीरका अन्य अङ्गलाई पनि असर गर्न सक्ने र कतिपय अवस्थामा मस्तिष्कमा समेत क्षति पुग्ने जोखिम रहन्छ ।

घरमा रोटी वा पूरी पकाएपछि पुराना पत्रपत्रिकामा राख्ने बानी पनि जोखिमरहित छैच । यसको प्रभाव वयस्कको तुलनामा बालबालिकामा बढी पर्न सक्छ । बालबालिकाका शारीरिक अङ्ग पूर्ण रूपमा विकसित भइनसकेकाले यस्तो सम्पर्कले उनीहरूको मानसिक तथा शारीरिक विकासमा असर पार्न सक्छ ।

गर्भवती महिलाले छापिएको कागजमा राखिएको खानेकुरा सेवन नगर्न विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ । गर्भधारणको सुरुआती अवस्थामा यस्ता रसायन शरीरमा प्रवेश गरे गर्भपतन हुने, जन्मिने बच्चामा मानसिक अपाङ्गता देखिने वा मृत शिशु जन्मिने जोखिम रहन सक्छ ।

जोखिमबाट बच्न खाद्य व्यवसायीले सुरक्षित तथा आधिकारिक रूपमा मान्यताप्राप्त फूड ग्रेड प्याकेजिङ सामग्री प्रयोग गर्नुपर्छ। घरमा भने स्टेनलेस स्टिलका भाँडा, दुना–टपरी वा सिसाका भाँडामा खानेकुरा राख्नु सुरक्षित विकल्प मानिन्छ ।

प्रतिक्रिया