मंगलवार, आश्विन २० गते २०८३

Tuesday 6th October 2026

अनियन्त्रितभई मोटरसाइकल पल्टिँदा  २४ वर्षीय युवकको मृत्यु

सोमवार , आश्विन १९, २०८३

कञ्चनपुर,१९ असोज — बेदकोट नगरपालिका–०७ लालपुरमा महेन्द्र राजमार्गमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा बेदकोट नगरपालिका–०५ निवासी अन्दाजी २४ वर्षीय विक्रम बमको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमवार मध्याह्न १२ः०० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल लालपुर क्षेत्रमा आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बम गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै घाइते बमको उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । अस्पतालमा चिकित्सकले उनको उपचारको प्रयास गरे पनि स्वास्थ्य अवस्थामा सुधार आउन सकेन। उपचारकै क्रममा सोही दिन दिउँसो १२ः५५ बजे चिकित्सकले बमलाई मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक विवरण प्राप्त भएको छ । महेन्द्र राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–०७ लालपुर क्षेत्रमा भएको उक्त घटनापछि आवश्यक प्रहरी प्रक्रिया अघि बढाइएको छ । दुर्घटनाबाट २४ वर्षीय युवकको ज्यान गएपछि घटनाबारे थप आवश्यक प्रक्रिया सम्बन्धित निकायले अघि बढाएको छ ।

 

प्रतिक्रिया