बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर एक महिलाको मृत्यु

सोमवार , आश्विन १२, २०८३

नवलपरासी,१२ असोज – नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटस्थित नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत निर्माणाधीन परियोजनाको चाइना कम्पनी परिसरमा ट्याक्टरको ट्रली पल्टिँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लु.२ त ६८११ नम्बरको ट्याक्टरको ट्रलीमा कम्पनीको ब्लक लोड गरी लैजाने क्रममा ट्रलीको पछाडिपट्टि बसिरहेकी देवचुली नगरपालिका–४ निवासी करिब ४० वर्षीया मनकुमारी सोती मगर दुर्घटनामा परेकी हुन् । ट्रली घोप्टिएपछि त्यसको ढालाले उनलाई च्यापेको थियो ।

ट्रलीले उनको टाउकोदेखि कम्मरसम्मको भाग थिचेको अवस्थामा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि तत्काल उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले पल्टिएको ट्रली उठाएर उद्धार कार्य गरेको थियो ।

मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आवश्यक प्रक्रिया पूरा गरी शव व्यवस्थापनको तयारी भइरहेको छ । निर्माण सामग्री ढुवानीका क्रममा भएको उक्त दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया