सिन्धुली,२७ साउन — सिन्धुली जिल्ला तथा आसपासका क्षेत्रमा पछिल्ला केही सातादेखि बढेको अत्यधिक गर्मी र तातो हावाको प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको छ । गर्मीसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्या लिएर उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेपछि सिन्धुली अस्पतालको बहिरङ्ग तथा आकस्मिक सेवामा चाप बढेको छ ।
अस्पताल प्रशासनका अनुसार पछिल्ला केही सातायता दैनिक चार सयदेखि पाँच सय जनासम्म बिरामी उपचारका लागि अस्पताल पुगिरहेका छन् । सामान्य समयमा आउने बिरामीको तुलनामा यो संख्या दोब्बरभन्दा बढी रहेको अस्पतालले जनाएको छ । बिरामीको संख्या अचानक बढ्दा बहिरङ्ग सेवामा टिकट लिनेदेखि चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनेसम्मका प्रक्रियामा सेवाग्राहीले लामो समय पर्खनुपर्ने अवस्था सिर्जना भएको छ ।
गर्मी बढेसँगै किटजन्य तथा पानीजन्य रोगका बिरामी बढी देखिएको अस्पतालको विवरण छ । उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने समस्या लिएर आउनेमध्ये भाइरल ज्वरो र टाइफाइडका बिरामीको संख्या बढी छ । त्यस्तै दूषित पानी तथा असुरक्षित खानाका कारण पखाला, बान्ता र पेटसम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामी पनि उल्लेख्य छन् ।
कडा घाममा लामो समय काम गर्ने वा हिँडडुल गर्ने व्यक्तिमा लु लाग्ने समस्या समेत देखिएको छ । यस्तो अवस्थामा बेहोस हुने, अत्यधिक तिर्खा लाग्ने र शरीरको तापक्रम असामान्य रूपमा बढ्नेजस्ता लक्षण देखिने गरेका छन् । गर्मी र अत्यधिक पसिनाका कारण दाद, घमौरा तथा विभिन्न प्रकारका छालाको एलर्जी भएका बिरामीको संख्या पनि बढेको अस्पतालले जनाएको छ ।
बिरामीको चाप बढेपछि अस्पतालको उपलब्ध जनशक्ति, औषधि तथा अन्य स्रोतसाधनमा थप दबाब परेको छ । आकस्मिक कक्षका शय्या भरिभराउ हुने अवस्था आएको छ भने बहिरङ्ग सेवामा टिकट काट्न तथा चिकित्सकलाई देखाउन बिरामीले घण्टौँ कुर्नुपरेको छ । बढ्दो सेवाग्राहीलाई व्यवस्थित रूपमा उपचार उपलब्ध गराउन थप जनशक्ति र आवश्यक औषधिको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निमित्त निर्देशक डा.सुशान्त कुमार खड्काले गर्मीका कारण देखिने स्वास्थ्य जोखिम कम गर्न सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उनीहरूले दिनभर कम्तीमा तीनदेखि चार लिटर सफा तथा उमालेको पानी वा पर्याप्त झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन् । बिहान दस बजेदेखि दिउँसो चार बजेसम्मको कडा घाममा सकेसम्म अनावश्यक रूपमा बाहिर ननिस्कन र निस्कनै परे छाता, टोपी तथा चस्मा प्रयोग गर्न उनको को सुझाव छ ।
त्यसैगरी शरीरलाई सहज हुने सुती, खुकुला र हल्का रङका कपडा लगाउन, बासी तथा खुला रूपमा राखिएका खानेकुरा नखान र सधैँ ताजा तथा छोपेर राखिएको खाना मात्र सेवन गर्न उनले आग्रह गरेछ । सडक वा खुला स्थानमा बिक्री गरिने काटिएका फलफूल र पेय पदार्थ सेवन नगर्नसमेत सचेत गराइएको छ । खाना खानुअघि तथा शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात धुने बानीलाई पनि चिकित्सकहरूले गर्मीयाममा संक्रमणबाट जोगिने महत्वपूर्ण उपायका रूपमा औँल्याएका छन् ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शतिष चन्द्र ढकालले उपचार सेवा सहज बनाउन आवश्यक व्यवस्थापनको प्रयास जारी राखेको बताए । तत्कालका लागि भने अत्यधिक गर्मी, दूषित पानी, असुरक्षित खाना र प्रत्यक्ष घामबाट जोगिँदै व्यक्तिगत सरसफाइ तथा पर्याप्त पानी सेवनमा ध्यान दिनु गर्मीजन्य रोगबाट बच्ने प्रभावकारी उपाय हुने उनको सुझाव छ ।