यो तस्वीर गत २०८१ असोज १ गते खिचिएको हो, असोज १२ गते रोशी खोलाको बाढीले सिन्धुलीको मुलाकोट क्षेत्र पुरिनुअघि। बिपी राजमार्गमा यात्रा गर्दा सधैं एउटै प्रश्न उठ्थ्यो – सुनकोसी नदीको किनारमै टासिएर बनाइएको क्वालिटी रिसोर्टलाई निर्माण अनुमति कसले दियो होला ? कोशीको मापदण्ड कति मिचिएको छ भन्ने बुझ्न, रिसोर्ट वरिपरि घुम्ने सोच धेरै पटक सोच बनाइयो, तर हतारको यात्राले समय मिलाउन सकिएको थिएन।
२०८१ असोज १ गते १ घण्टा समय निकालेर उक्त रिसोर्ट आसपास र कोशी किनार वारिपारी घुमेको थिए । रिसोर्टलाई नजिकबाट नियाल्दा देखियो – त्यहाँ निर्माण गरिएका भिल्लाहरू नदी किनारबाट मुस्किलले ४ मिटर मात्र पर थिए। यो देखेर झन् आश्चर्य लाग्यो – यति जोखिम मोलेर करोडौं लगानी गर्ने हिम्मत कसरी आयो? अधिकांश स्थानीय तहमा साना खोल्साहरूमा भवन निर्माण मापदण्ड नै ५ मिटर हुन्छ भने, यहाँ ठूलो नदीको किनारमा ४ मिटर छाडेर निर्माणको अनुमति कसले दियो होला? कोशीको छेउमा नै बसेर त्यही दिन फेसबुकमा लेखे – “कोशीको मापदण्ड कति?”
काठमाडौं फर्किएपछि, नदीको मापदण्ड मिचेर कसरी रिसोर्ट निर्माण भएको हो भन्ने विषयमा सम्बन्धित पालिका र अन्य निकायसँग बुझ्ने सोच थियो। तर केही दिनमै असोज १२ गते रोशी खोलाले वितण्डा मच्चायो, जसमा सोही रिसोर्ट पनि पुरियो। कोशी किनार घुम्दा मनमा लागेको डर अन्ततः वास्तविकतामा परिणत भयो।
मुलकोटको विकास र अव्यवस्थित संरचनाहरू
मुलकोट विगत केही वर्षमा उल्लेखनीय रूपमा पर्यटन केन्द्रको रूपमा विकसित भएको छ। समृद्ध सिन्धुली अभियान अन्तर्गत २०१६ मा काठमाडौंदेखि सिन्धुली साइकल यात्रा हुँदा, मुलकोटमा पर्याप्त होटलहरू थिएनन्। हामीलाई मुलकोटमै बस्न सजिलो हुने थियो, तर होटल अभावका कारण अबेर राति खुर्कोटसम्म पुगेर बास बस्नुपरेको थियो। त्यसबेला खुर्कोटमा रहेका सबै होटलको क्षमता १०० जनाको पनि थिएँन । तर २०१७ को “राइड टु सिन्धुलीगढी” साइकल यात्रामा भने मुलकोटमा होटलहरू थपिएकाले १५० जना साइकल यात्रीलाई त्यहीँ राख्न सकियो। होटल व्यवसायीहरूले पनि भव्य स्वागत गरेका थिए।
त्यतिबेला ताज रिसोर्ट निर्माणको अन्तिम चरणमा थियो, तर क्वालिटी रिसोर्टलगायत अन्य रिसोर्ट निर्माण सुरु भइसकेका थिएनन्। अहिले मुलकोट ५०० भन्दा बढी पाहुनालाई राख्न सक्ने होटल हबमा परिणत भएको छ। गुणस्तरीय होटल खुलेका छन्, स्थानीय नागरिकले रोजगारी पाएका छन्। पछिल्लो ५ वर्षको अवधिमा मुलकोटको मुहार नै फेरिएको छ। सिन्धुलीको पर्यटन विकासका लागि यो सकारात्मक पक्ष हो।
तर पछिल्ला वर्षहरूमा क्वालिटी रिसोर्टले नदीको मापदण्ड मिचेर भिल्लाहरू बनाउनु गलत अभ्यासको सुरुवात बन्यो। त्यसअघि बनेका होटल र रिसोर्टहरूले नदी किनारलाई टेन्ट वा अस्थायी संरचनाका रूपमा मात्र प्रयोग गरेका थिए, स्थायी संरचना बनाएका थिएनन्। तर एकचोटि क्वालिटी रिसोर्टले मापदण्ड मिचेपछि, अरू व्यवसायीले पनि यही बाटो पछ्याए। अहिले ताज, पौवा लगायत अन्य रिसोर्टहरूले पनि सोही शैलीमा नदी किनारमा भिल्ला बनाइरहेका छन्। यसले अरूलाई पनि मापदण्ड मिच्ने हिम्मत दिएको छ, जुन पूर्ण रूपमा गलत छ।
नदीको बहावमा बलमिच्याइँ
अहिले होटल हबका रूपमा विकास भएको मुलकोट क्षेत्रको पुरानो गुगल तस्बिर हेर्दा, हाल खोलाको बहाव पसेको स्थान पहिले नै बगर रहेको देखिन्छ। २००३ को उक्त स्थानको गुगल तस्बिर र यो वर्ष खोलाले ओगटेको क्षेत्र तुलना गर्दा, पहिला जहाँ बगर थियो, अहिले त्यहीँ कोशीको बहाव पुग्यो ।
वास्तवमा, कोशीले कुनै नयाँ क्षेत्र डुबान गरेको होइन, बरु उसैले छाडेको आफ्नो पुरानो प्राकृतिक बहावलाई मात्र खोजेको हो। अघिल्लो समय बगर क्षेत्रमा खेती हुने भएकाले, खोला पस्दा ठूलो भौतिक क्षति हुँदैनथ्यो। कहिले बगर बन्ने, कहिले खेती लाग्ने—यसरी किसान र कोशीको लुकामारी चलिरहन्थ्यो। यदि खेतमा कोशी पसिहाले पनि, त्यसले माटोको उर्वराशक्ति बढाउने भएकाले किसानहरू यसलाई सकारात्मक रूपमा लिने गर्थे।
तर अहिले, यो परिदृश्य बदलिएको छ। उक्त बगर क्षेत्रमा खेती छैन। त्यहाँ होटल, रिसोर्ट तथा अन्य भौतिक संरचनाहरू निर्माण गरिएका छन्, जसमा करिब १ अर्ब हाराहारीको लगानी देखिन्छ। यही कारण, कोशीले पुनः आफ्नो बहाव त्यहाँ पस्दा ठूलो भौतिक तथा आर्थिक क्षति भएको छ।
कानूनी मापदण्ड र बेवास्ता
सिन्धुली सुनकोसी गाउँपालिकाको “भवन निर्माण संहिता तथा नक्सा पास कार्यविधि २०७५“ अनुसार, खोलाको छेउमा भवन निर्माण गर्दा साना खोल्साहरूबाट कम्तीमा १० मिटर तथा ठूला नदीहरूको ऐतिहासिक बाढी सतहबाट ३० मिटर टाढा हुनुपर्ने प्रावधान छ। तर, मुलकोटमा निर्माण भएका संरचनाहरूमा यी मापदण्ड पालना भएको देखिन्न।सुनकोसी गाउँपालिकाले अनिवार्य नक्सा पासको नियम लागू गरे पनि क्वालिटी रिसोर्टले नदी छेऊमा निर्माण गरेको संरचनाको नक्सा पास गरेको पाइँदैन। सबैभन्दा चिन्ताजनक पक्ष भनेको स्थानीय निकायहरूको मौनता हो। कानुनी रूपमा नक्सा पास नगरिएका संरचनाहरू निर्माण भइरहे पनि, पालिकाले कडाइ नगरेको देखिन्छ। पालिकाको कार्यक्रम गर्ने थलो नै क्वालिटी रिसोर्ट बनेको छ ।
सुनकोशी नदीको किनारबाट केवल ४ मिटर मात्र दूरी छाडेर होटलका भिल्लाहरू निर्माण गरिँदा पनि सम्बन्धित सरोकारवाला निकायहरू मौन देखिएका छन्। मापदण्डविपरीत नदी किनारमा निर्माण गरिएका यी भिल्लाहरूले ठूलो दुर्घटनाको जोखिमसमेत बढाएका छन्। यस्ता संरचनाहरूको न नक्सा पास गरिएको छ , न त निर्माण अनुमति नै प्राप्त भएको छ। तर पनि सम्बन्धित निकायहरूको सेटिङ र मिलेमतोका कारण यस्ता अवैध निर्माण कार्यहरू निर्बाध रूपमा सञ्चालन भइरहेको आशंका गरिएको छ।
वि.सं. २०८१ साल असोजमा एक्कासि आएको बाढीका कारण होटलमा बसेका पाहुनाहरूलाई रातारात उद्धार गर्नुपरेको अवस्था सिर्जना भएको थियो। यस घटनाले नदी किनारमा मापदण्डविपरीत निर्माण गरिएका संरचनाहरू कति जोखिमपूर्ण हुन सक्छन् भन्ने स्पष्ट रूपमा देखाएको छ। यस्ता अवैध तथा जोखिमयुक्त निर्माणप्रति सम्बन्धित निकायहरूले समयमै ध्यान नदिने हो भने भविष्यमा अझ ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने सम्भावना रहेको छ।
अब के गर्न आवश्यक छ?
बाढीले पुरिएका मुलकोटका अधिकांश रिसोर्टहरू करोडौं लगानीमा पुनः सञ्चालनमा आइसकेका छन्। केही भने अझै पुनर्निर्माणको चरणमा छन्। सरकारले कोशी नदीको मापदण्डलाई स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्छ। नदी किनारमा निर्माण गरिने संरचनाहरूमा कडाइका साथ नियमन लागू गर्नुपर्छ। स्थानीय सरकार र सरोकार निकायहरूले प्रभावकारी अनुगमन गर्नुपर्छ। नदी किनारमा अनधिकृत संरचना रोक्न नागरिक स्तरबाट पनि खबरदारी हुनु आवश्यक छ।
विकास आवश्यक छ, तर सुरक्षित र दिगो विकास झन् महत्त्वपूर्ण छ। यदि यस्ता अनियन्त्रित निर्माणलाई रोकिएन भने, भविष्यमा अझ ठूलो प्राकृतिक विपत्ति निम्तिन सक्छ। त्यसैले, पर्यटन प्रवर्द्धनसँगै वातावरणीय सुरक्षा र कानुनी मापदण्डको पालना अनिवार्य बनाइनुपर्छ। २०८१/१०/१२ गते लेखिएको भुवन थापाको ब्लग बाट साभार