कोलम्बियामा सन् २०१८ मा सार्वजनिक भएको एक असामान्य घटनाले चिकित्सा विज्ञान तथा आनुवंशिकी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ । दुई वर्षीय जुम्ल्याहा सन्तानका बुवाबारे शंका उत्पन्न भएपछि एक महिलाले परीक्षण गराउँदा नतिजा अचम्मलाग्दो आयोती जुम्ल्याहा बालकका पिता अलग–अलग व्यक्ति रहेको पुष्टि भयो ।
यो घटना ‘हेटेरोप्याटर्नल सुपरफेकन्डेशन’ नामक अत्यन्त दुर्लभ जैविक अवस्थासँग सम्बन्धित रहेको वैज्ञानिकहरूले बताएका छन् । यस प्रक्रियामा एउटै मासिक चक्रभित्र महिलाको शरीरबाट निस्किएका दुई वा बढी अण्डा फरक–फरक पुरुषको शुक्राणुद्वारा निषेचित हुन्छन्, जसका कारण जन्मिने जुम्ल्याहा सन्तानको आनुवंशिक पिता भिन्न हुन सक्छ । विश्वभर प्रकाशित वैज्ञानिक अभिलेखअनुसार यस्ता घटनाहरूको संख्या अहिलेसम्म निकै सीमित—करिब दुई दर्जन हाराहारी—मात्र रहेको छ ।
उक्त घटनामा पितृत्व पहिचान गर्न कोलम्बियाको नेशनल युनिभर्सिटीस्थित जनसंख्या आनुवंशिकी तथा पहिचान प्रयोगशालाले आधुनिक डीएनए परीक्षण प्रविधि प्रयोग गरेको थियो। वैज्ञानिकहरूले बच्चा, आमा र सम्भावित पिताबाट लिइएका नमुनाहरूमा ‘माइक्रोसेटेलाइट मार्कर’ विश्लेषण गरी आनुवंशिक मिलान परीक्षण गरेका थिए । यस प्रक्रियामा प्रत्येक व्यक्तिको डीएनएका विभिन्न बिन्दुहरूको तुलना गरिन्छ, जसबाट पितृत्वको उच्च विश्वसनीयतासहित पुष्टि गर्न सकिन्छ ।
प्रयोगशालाका विज्ञहरूका अनुसार सामान्यतया बच्चाको आधा आनुवंशिक संरचना आमासँग र बाँकी आधा पितासँग मेल खानुपर्छ। तर यस घटनामा एक बालकको डीएनए कथित पितासँग मिल्दा अर्कोको नमिलेपछि पुनः परीक्षण गरिएको थियो। दोहोरिएको परीक्षणले पनि फरक–फरक पितृत्व पुष्टि गरेपछि यसलाई वैज्ञानिक रूपमा प्रमाणित मानिएको हो।
अनुसन्धानकर्ताहरूका अनुसार महिलाको शरीरबाट एकभन्दा बढी अण्डा निस्कनु असामान्य होइन, तर ती सबै अण्डा फरक समयमा निषेचित हुनु भने दुर्लभ अवस्था हो। अण्डा सामान्यतः छोटो समय मात्र जीवित रहने भए पनि केही अवस्थामा फरक दिनमा निष्काशन हुन सक्ने भएकाले अलग–अलग समयमा गर्भाधान सम्भव हुने बताइएको छ ।
विशेषज्ञहरूले यस्तो घटना विरलै देखिनुको कारण पितृत्व परीक्षणको सीमित प्रयोग पनि भएको उल्लेख गरेका छन् । पछिल्लो समय यस्ता परीक्षणको पहुँच र प्रयोग बढ्दै जाँदा भविष्यमा यस्ता घटनाहरू थप प्रकाशमा आउने सम्भावना रहेको उनीहरूको अनुमान छ ।
यस प्रकारका परीक्षणहरू गर्दा सम्बन्धित व्यक्तिको गोपनीयता, गरिमा र संवेदनशीलताको पूर्ण सम्मान गरिनुपर्नेमा वैज्ञानिकहरूले जोड दिएका छन् ।