सिन्धुली,३० चैत — नेकपाका नेता हरिबोल गजुरेलले शान्ति प्रक्रिया पश्चात् पार्टी जनतासँग प्रभावकारी रूपमा जोडिन नसकेको स्वीकार गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त विचारमा उनले पार्टीभित्र जनताको भावना बुझ्ने र त्यसका आधारमा नीति निर्माण गर्ने संस्कार विकास हुन नसकेको उल्लेख गरेका हुन् ।
उनका अनुसार शान्ति प्रक्रियामा प्रवेश गरेपछि पार्टी कहिलेकाहीँ जनतासम्म पुगे पनि उनीहरूको वास्तविक समस्या र धारणा सुन्ने तथा त्यसलाई आत्मसात् गर्ने प्रवृत्ति कमजोर रह्यो । सीमित बुझाइलाई जनतामाथि थोपरिने प्रवृत्तिका कारण जनविश्वास क्रमशः घट्दै गएको उनले संकेत गरेका छन् ।
गजुरेलले जनतामा निराशा बढ्दै जाँदा पार्टी नेतृत्वले त्यसलाई गम्भीर रूपमा नलिएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, “फरमान र जार्गनबाट आजित जनता टाढिँदै गए,टेलिभिजन र रेडियोसमेत बन्द गर्न थाले, तर पनि हाम्रो आँखा खुलेन ।” यस अभिव्यक्तिले पार्टी नेतृत्व र जनताबीचको दूरी झन् स्पष्ट भएको देखिन्छ ।
उनले पार्टीका मूल नारा ‘जनता इतिहासका निर्माता हुन्’ तथा ‘जनताको सेवा’ व्यवहारमा लागू हुन नसकेको स्वीकार गरेका छन् । ती नारा केवल भाषण र औपचारिकतामा सीमित रहँदा जनतामा असन्तुष्टि बढेको उनको बुझाइ छ। साथै, कुशासन, भ्रष्टाचार र कमिसनजस्ता विकृतिलाई ढाकछोप गर्न चर्का भाषणको सहारा लिने प्रवृत्तिले परिस्थिति थप जटिल बनेको उनले बताएका छन् ।
गजुरेलले भिन्न मतप्रति असहिष्णुता बढेको विषय पनि उठाएका छन् । फरक विचार राख्नेहरूप्रति ‘नो इन्ट्री’जस्तो व्यवहार गरिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उनको टिप्पणी छ । यसले पार्टीभित्र विचारको बहुलता कमजोर बनेको संकेत गर्दछ ।
अन्ततः जनताले वास्तविकता बुझेको र आफ्नो निर्णयमार्फत प्रतिक्रिया दिएको उनले निष्कर्ष निकालेका छन् । “ढिलो भए पनि जनताले सत्य बुझेर अन्ततः सजाय दिए,” उनले लेखेका छन् । यस सन्दर्भमा उनले जनतालाई नै सर्वोच्च शक्ति र निर्णयकर्ता भन्दै ‘जनता नै महान् हुन्’ भन्ने धारणा पुनः पुष्टि गरेका छन् ।
उनको यो अभिव्यक्तिलाई पार्टीभित्र आत्मसमीक्षाको संकेतका रूपमा पनि हेरिएको छ। विश्लेषकहरूका अनुसार यस्तो स्वीकारोक्तिले आगामी दिनमा नीति र व्यवहार सुधारका लागि आधार तयार पार्न सक्ने अपेक्षा गरिएको छ ।