मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

घरभित्रै जलेकी सुशीलाः किन सुरक्षित छैनन् महिलाहरू ?

बुधवार , पौष ९, २०८२

सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटमा भएको पेट्रोल छर्केर आगो लगाई एक महिलाको निर्मम हत्या केवल एउटा आपराधिक घटना मात्रै होइन, यो हाम्रो समाजको गहिरो पीडादायी ऐना पनि हो । ३२ वर्षीया सुशीला बम्जन आफ्नै घरभित्र, आफ्नै परिवारको घेराभित्र जलेर मर्नुपर्नु परेको यो घटनाले ‘घर भनेको सुरक्षित ठाउँ हो’ भन्ने धारणा माथि गम्भीर प्रश्न उठाएको छ ।

सबैभन्दा पीडादायी पक्ष के हो भने, यो घटना बाहिरी अपराधीबाट होइन, घरभित्रकै सदस्यहरूमाथि शंका र स्वीकारोक्तिसहित अगाडि बढिरहेको छ । प्रारम्भिक अनुसन्धानमा मृतककी नन्दले नै पेट्रोल छर्केर आगो लगाएको स्वीकार गर्नु, र सासु समेत प्रतिवादीको रूपमा पक्राउ पर्नु, पारिवारिक सम्बन्धभित्र लुकेको हिंसाको भयावह रूप हो । यसले देखाउँछ,महिलामाथि हुने हिंसा अझै पनि हाम्रो समाजमा सामान्यीकरण हुँदै आएको छ, जसको अन्त्य हुन सकेको छैन ।

हामी बारम्बार सुन्छौं—“पारिवारिक झगडा थियो”, “घरेलु विवाद थियो”, “आन्तरिक कुरा हो”। तर, जब यस्ता ‘आन्तरिक कुरा’ ले ज्यान नै लिन्छन्, तब यो व्यक्तिगत होइन, सामाजिक मुद्दा बन्छ । सुशीलाको हत्या कुनै क्षणिक रिस वा आकस्मिक दुर्घटना होइन, यो योजनाबद्ध, निर्मम र अमानवीय कृत्य हो, जसलाई कुनै पनि बहानाले ढाकछोप गर्न मिल्दैन ।

प्रहरीले प्रमाण संकलन, पक्राउ र अनुसन्धानमा तत्परता देखाएको छ, जुन सराहनीय पक्ष हो । तर, यस्ता घटनामा न्याय केवल कानुनी प्रक्रियासम्म सीमित हुनु हुँदैन । दोषीलाई कडा भन्दा कडा सजाय हुनु आवश्यक छ, ताकि समाजमा स्पष्ट सन्देश जाओस,‘महिलामाथि हुने हिंसा सह्य हुँदैन, सहनु हुँदैन ।’

यस घटनाले राज्यका निकाय, स्थानीय तह, सामाजिक संघसंस्था र समुदाय सबैलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ । किन महिलाहरू अझै घरभित्रै असुरक्षित छन्? किन घरेलु हिंसाका संकेतहरू समयमै पहिचान र रोकथाम हुन सकेन ? छिमेकी, समाज र स्थानीय संरचनाले किन समयमै चासो देखाउन सकेनन ?

अब पनि यदि यस्ता घटनालाई “दुर्भाग्यपूर्ण घटना” भनेर पन्छाइयो भने, भोलि अर्को सुशीला जलेर मर्न सक्छिन् । त्यसैले आवश्यक छ,सामाजिक चेतना, कडा कानुनी कार्यान्वयन, पीडितमैत्री संयन्त्र र शून्य सहनशीलताको नीति । सुशीलाको मृत्यु केवल एक परिवारको क्षति होइन, यो सम्पूर्ण समाजको हार हो । अब प्रश्न यो होइन कि अपराध कसले ग¥यो, प्रश्न यो हो,हामी यस्तो अपराध रोक्न कति गम्भीर छौं ?

प्रतिक्रिया