शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अन्धकार चिर्दै सिन्धुलीको उज्यालो

बुधवार , आश्विन २२, २०८२

सिन्धुली फेरि उज्यालो भएको छ । तर यो उज्यालो केवल बिजुलीको बल्बमा सीमित छैन, प्राकिरण सिन्धुलीका प्राविधिक, जनप्रतिनिधि र गाउँलेहरूको साझा आत्मबलको उज्यालो हो । असोज १८ र १९ गते अविरल वर्षासँगै आएको बाढीपहिरोले जिल्ला अन्धकारमा डुबेको बेला, कतिपय स्थानमा पोल बगायो, ट्रान्सफर्मर जले, र तार चुँडिए। त्यो क्षण केवल विद्युत् वितरण प्रणालीको विफलता होइन, समुदायकै परीक्षा थियो ।

तर परीक्षा सकिनुअघि नै उत्तर तयार थियो,“हाम्रो गाउँ उज्यालो बनाउन हामी आफैं उठौं”। नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूले रातभर हिलो, पानी र बिजुलीको जोखिम मोलेर काम गरे । जनप्रतिनिधिहरूले बाटो सफा गरे, स्थानीयले काँधमा पोल बोकेर नदी तरे । जब एकजना प्राविधिकले हिलोमा खुट्टा गाडेर तार टाँग्थे, त्यो केवल रोजगारीको जिम्मेवारी थिएन,त्यो जीवन र आत्मसमर्पणको प्रतीक थियो ।

सिन्धुलीको यो घटनाले एउटा ठूलो सन्देश दिएको छ,विपद् केवल विनाश होइन, चेतनाको पुनर्जागरण पनि हो । जब सबै बाटो बन्द हुन्छ, सहयोगका ढोका खुल्छन् । जब अन्धकार छाउँछ, त्यहीँबाट उज्यालोको मूल्य बुझिन्छ । हाम्रो प्रणाली कमजोर हुन सक्छ,पोल पुरिन सक्छ, तार चुँडिन सक्छ,तर मानवीय आत्मा कहिल्यै चुँडिँदैन । यही कारणले सिन्धुलीले फेरि उज्यालो देख्यो। बत्ती बल्दा मात्र होइन, बत्ती बलाउनेहरू देख्दा पनि देश गर्व गर्छ ।

अब चुनौती अर्को छ,स्थायित्वको । प्रत्येक वर्ष बाढीपहिरोपछि यस्तै संकट दोहोरिन्छ । तसर्थ, प्राधिकरण र सरकारलाई अब प्रतिक्रियात्मक होइन, पूर्वतयारीमुखी योजना चाहिन्छ । हिलोमा खुट्टा गाड्नेहरूका हातमा आधुनिक उपकरण पु¥याउनुपर्छ । अस्थायी मर्मत होइन, दिगो संरचना बनाउनु पर्छ ।

सिन्धुलीको उज्यालो अब केवल भौतिक उपलब्धि होइन,यो एउटा मनोवैज्ञानिक पुनर्जागरण हो । यो कथाले देखायो,जब जोखिम मोलिन्छ, तब उज्यालो फर्किन्छ । जब एकताको तार जोडिन्छ, तब देश बल्छ । सिन्धुलीको यो बत्ती फेरि निभोस् भन्ने हाम्रो चाहना होइन । बरु यो उज्यालो अरू जिल्लासम्म फैलियोस् भन्ने हाम्रो आशा हो । किनभने, यो उज्यालो केवल बिजुली होइन,आशाको नाम हो ।

प्रतिक्रिया