नेपाललाई कृषि प्रधान देश भन्ने गरिएको छ । हामीले देशलाई कृषिप्रधान भनेर चिनाएको धेरै भयो । देशको आम्दानी र जनताको जीवन निर्वाहको मुख्य आधार नै कृषि भएका कारण भनिएको कृषि प्रधान देश पछिल्लो समय किंवदन्ती जस्तै बनिएको छ । यद्यपि कृषिमा आश्रित जनसंख्या अझै अधिक नै रहेको छ । कृषि कर्म केबल जीवन निर्वाहको माध्यम हुन थालेको अवस्थामा सरकार यसलाई व्यवसायमुखी बनाउने दाबी गर्दैछ । कृषि उत्पादन विदेश निर्यात गर्ने इतिहास बोकेको नेपाल वर्तमानमा खाद्यान्नमै परनिर्भर छ । सरकारको उपेक्षाका कारण उर्वर भूमि प्रत्येक वर्ष बाँझिन थालेको छ । सक्षम युवा र जनशक्तिको विदेश पलायन प्रत्येक दिन बढ्दो छ । ग्रामीण बस्ती सक्रिय जनशक्तिविहीन बन्दै जाँदा बाझिँदै गएको कृषियोग्य भूमिको प्रयोग चुनौतिपूर्ण बनेको छ । वैदेशिक रोजगारले खेत–पाखा बाँझो भए पनि हाम्रो अर्थतन्त्र अझै पनि कृषिमा नै निर्भर रहेको छ । तर, नेपालको कृषि कर्मको व्यावसायिकीकरण भएको छैन । निर्वाहमुखी कृषि प्रणालीका कारण वर्षदिन काम गरेर आधा वर्ष खान नपुग्ने अवस्था अद्यावधि छँदैछ । परम्परागत खेति प्रणालीका कारण पनि दुःख र लागत धेरै आम्दानी थोरै हुने अवस्था छ । यी यावत् समस्याका वावजुद मानिसहरु बाध्य भएर कृषि कर्ममा लाग्न बाध्य छन् । देशको ठूलो जनशक्ति कृषि कर्ममा लागे पनि बेसाहाको भर पर्नुपर्ने बाध्यतामा नेपाल छ । चामलदेखि दालसम्म, आँटादेखि अदुवासम्म आयात गर्नुपर्ने अवस्थाको देशले आफूलाई कृषिप्रधान भनिरहँदा लाजमर्दो अवस्था छ ।
अर्कोतिर राज्यले कृषिलाई प्राथमिकतामा राखेको छ । अनुदानदेखि आधुनिकीकरणसम्मका परियोजना संचालन गरेको छ । तर, यी परियोजनाहरु वास्तविक कृषककहाँ पुग्न सकेको छैन । टाठाबाठा तथा शक्तिकेन्द्रसँग नजिक रहेकाहरुले त्यसको दुरुपयोग गरिरहेका छन् । कृषिलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउनेतर्फ राज्यको खासै ध्यान छैन । जग्गा खण्डिकरण भइरहेको छ । कहाँ कुन फसल लगाउँदा प्रतिफल बढी आउँछ भन्नेतिर पनि कसैको ध्यान छैन । उत्पादित बस्तुको बजारीकरणमा पनि राज्यले खासै सहयोग पु¥याएको छैन । दुःखको कुरा के छ भने किसानहरुले पैसा नै तिर्छु भन्दा पनि समयमा मल र बीउ पाउने अवस्था छैन । हरेक वर्ष किसानहरुले खेती लगाउने बेला मल पाउँदैनन् । मल नै नपाएपछि उत्पादन हुने कुरै भएन । उत्पादित बस्तुहरु कौडीको मूल्यमा बेच्ने विवशताबीच कृषकहरुले सम्मान पनि पाउँदैनन् । कृषिकर्म सबैभन्दा चुत्थो पेशाको रुपमा दर्ज छ । जबसम्म कृषि सबैभन्दा सम्मानित पेशा हुँदैन,किसानहरुलाई राज्यबाट प्रोत्साहन मिल्दैन तबसम्म कृषि क्षेत्रको विकास हुँदैन । त्यसैले किसान लक्षित कार्यक्रम मार्फत उनीहरुलाई प्रोत्साहन, सम्मान र सुविधा प्रदान गर्दै देशको अर्थतन्त्रमा सुधार गर्न सरकार संकल्पित हुनै पर्छ ।