सिन्धुली – सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर दुईका सांसद लेखनाथ दाहाल ‘राजन’ले बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको पुनर्निर्माण तत्काल थाल्न माग गर्नु भएको छ । बिहिबार सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुलीले गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले सांसद दाहालले राजमार्गको खुर्कोट–नेपालथोक र नेपालथोक–भकुण्डेवेशी खण्ड तत्काल पुनर्निर्माण थाल्न सरकारसँग माग गर्नु भएको हो ।
उक्त राजमार्गको गत असोसमा रोशी र सुनकोसी नदिमा आएको बाढी र पहिरोले बगाउँदा झण्डै १२ किलोमिटर सडक ध्वस्त भएको छ । राजमार्गको नेपालथोक–भकुण्डेवेशी खण्डमा रोसीलाई तर्काएर अस्थायी ट्रयाकमार्फत सवारी साधन सञ्चालन हुँदै आए पनि त्यसको पुनर्निर्माणमा सरकारले बजेटको सुनिश्चितता गर्न नसक्दा ढिलाई भएको भन्दै सांसद दाहालले बजेटको स्रोत सुनिश्चित गर्दै निर्माण थाल्न माग गर्नु भएको हो ।
क्षति भएको चार महिना बितिसक्दा समेत राजमार्गको पुनर्निर्माणमा ढिलाइ हुँदा आगामी वर्षातमा राजमार्ग पुरै बन्द हुने अवस्था आएकोले तत्काल पुनःनिर्माण र पुनःर्निर्माण नसकिदासम्मका लागि स्थायी डाइभर्सन बनाउनु पर्ने दाहालको भनाई छ ।
यसका लागि आफूले प्राधनामन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, डिजी लगायतसँग परामर्श गरेको उहाँको भनाइ छ ।
राजमार्ग पुनर्निर्माणका लागि आवश्यक पर्ने प्राविधिक अध्ययन तथा स्टमेट सबै तयार भइसक्यो । “यो पुनःर्निर्माणमा करिब १० अर्ब रुपैयाँ लागत लाग्ने स्टमेट छ । यो सबै बजेट सुनिश्चित गर्न तत्काल सम्भावना नभएर पनि हाल कम्तीमा ५० करोड रुपैयाँ मात्रको सुनिश्चित गर्ने हो भने टेण्डर प्रक्रिया सुरु हुने र स्थायी ट्रयाक निर्माण सँगै पुनर्निर्माण सुरु गर्न सकिन्छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रीज्यूहरूले अलि तदारुकता देखाउनु पर्यो,” उहाँले भन्नुभयो ।
दलहरूले राज्यका संरचनालाई दुरुपयोग गरे
फरक प्रसंगमा सांसद दाहालले राज्यका निकायमा चरम दलीय करण भएको बताउनुभयो । उहाँले एउटै प्रकृतिको मुद्दामा पनि कोही जेल जाने र कोही सहजै छुट्ने भइरहेकाले अख्तियार र अदालमा पनि राजनीतिक दबाब र प्रभाव परेको बताउनुभयो ।
दाहालले भन्नुभयो, “२२ करोड अपचलन भएको मुद्दामा ऋषिकेश पोखरेलको श्रीमतीलाई एकै दिनमा अदालतमा हाजिर गराएर सोही दिनमै धरौटीमा छुट्नु दबाब र प्रभावमा परेको नजिर हो । सहकारी ठगी प्रकरणमै धनराज गुरुङको अनुसन्धानबाहिरै राखेर सिआइवीले गरिराखेको छ, उस्तै प्रकृतिको मुद्दामा रवि लामिछाने हिरासतमा हुनुहुन्छ घुमाइराखिएको छ । एउटै प्रकृतिको मुद्दामा राज्यले विभेद गर्नुहुन्न ।”