सोमवार, कार्तिक २३ गते २०८३

Monday 9th November 2026

सिन्धुलीमा अवैध हतियारले सुरक्षा चुनौती

बुधवार , पौष २४, २०८१

सिन्धुली –गत कातिक २५ गते सिन्धुलीको हरिहरपुगढी गाउँपालिका ६ झप्सी स्थित बाबजी खोल्सीमा एक शिक्षकलाई गोली प्रहार भयो । सर्लाही बागमती नगरपालिका ७ का प्रसानन्द भन्ने बजनन्दन ठाकुर सहित ३ जनाले मकवापुर बागमती गाउँपालिका १ का शिक्षक प्रेम बहादुर बम्जनलाई गोली प्रहरी गरि फरार भएका थिए । घटनास्थलमा लाईभ राउण्ड एक गोली, गोलीको खोका एक थान फेला परेको प्रहरीले जानकारी दिएको छ । गोली चलाउने बिजनन्द ठाकुरलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । ठाकुरको बयान अनुसार छोटो हतियार सनम भन्ने भारतिय व्यक्तिले भारतबाट ल्याएको उक्त लाईभ राउण्ड र गोलीको खोका सोहि हतियारको रहेको थियो । लुटपाट गर्ने उदेश्यले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गत भदौँ १३ गते कमलामाई नगरपालिका १० का भिम बहादुर हायूको घरबाट रिभल्वर बन्दुक सहित ६ राउण्ड फेला पारेको थियो । गोप्य सुचनाको आधारमा प्रहरीले हायूको घर खानतलासी गरेको थियो । घरको तल्लो कोठामा रहेको चामल राखेको प्लाष्टिकको ड्रम भित्र लुकाई छुपाइ राखेको बन्दुक प्रहरीले फेला पारेको हो । हायूलाई पक्राउ गरि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्धा दर्ता गरि अनुसन्धान गर्दा उहाँको छोराले भारतबाट हतियार चोरी ल्याएका थिए । भारतमा काम गरिरहेको घरबाट उक्त हातहतियार तथा गोली चोरी गरि लुकाईछिपाई राखेको र पुन भारतमा गएको भन्ने खुलेको प्रहरीले बताएको छ । गत असोज ४ गते सिन्धुली जिल्ला अदालतबाट हायूलाई एक लाख धरौटीमा तारिखमा रहेको र छोरालाई अभिभावको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दैै गएको हो । विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको पाइएको प्रहरीले बताएको छ । साना हतियार शरीरमा लुकाएर बोक्न सजिलो हुने भएकाले हतियारकै भरमा आपराधिक क्रियाकलाप हुने गरेकाले सुरक्षामा चुनौती थपिदै गएको हो । सुरक्षा चुनौतीको विश्लेषण गरेर जिल्ला प्रशासन कार्यालयले हात हतियार राख्न अनुमति दिन्छ । तर त्यो पनि प्रत्येक आर्थिक वर्ष भित्रमा नविकरण गर्नुपर्छ । तर मुलुकमा अवैध हातहतियारको विगविगि छ । खुला सिमाना रहेकाले जिल्लामा भारतबाट अवैध रुपमा साना हतियार ल्याएर अपाराधिक घटना घटाउने र यहाँबाट अन्य जिल्लामा लगेर बिक्री गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । त्यसलाई न्यूनिकरण गर्न प्रहरीले सक्रियता बढाएको बताएको छ । प्रहरीले अवैध हतियार कारोवारमा संलग्न व्यक्तिलाई आफ्नो सुरक्षा संयन्त्र परिचालन गरेर बेलाबखत अवैध हतियारसहित पक्राउ गर्ने गरेको छ ।

सिन्धुलीमा प्रहरीले १० अवैध हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले साढे तीन वर्षको अवधिमा १० अवैध हतियार बरामद गरेको हो । कटुवा पेस्तोल १ नाले, ८ वटा भरुवा बन्दक, रिभल्वर १ थान, गाली एक थान र एक थान खोडा बरामद गरेको हो । प्रहरीले ९ जना पक्राउ समेत गरिसकेको छ ।

प्रतिक्रिया