सोमवार, कार्तिक २३ गते २०८३

Monday 9th November 2026

सिन्धुलीमा मापदण्ड बिपरित मासु पसल

मंगलवार , पौष २३, २०८१

सिन्धुली– सिन्धुलीका बजारहरुमा खुल्ला स्थानमा नै माछा, मासु बिक्री गर्ने गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा सञ्चालित अधिकांश मासु पसलहरु अव्यवस्थित र खुल्ला रुपमा नै सञ्चालन भइरहेका छन् ।

माछा मासु बिक्री गर्ने अधिकांश मासु पसलेहरु मापदण्ड पुरा नगरि बिक्री वितरण गरिरहेका छन् । मासु बिक्री गर्ने पसलेले सामान्य ओत लाग्ने टहरो र खुल्ला चौरमा खाट राखि बिक्री गरिरहेका छन् ।

विगत लामो समय देखि खुल्ला स्थानमा नै मासु बिक्री गरिरहँदा नियमनकारी निकाय भने मौन छ । लामो समय देखि मासु बिक्री गरिरहेका व्यापारीहरुले मासु बेच्नका लागि निश्चित मापदण्ड पुरा नगरि मासु बिक्री गर्दा मानव शरिरमा प्रतिकुल असर पर्न सक्ने स्थानीयबासीहरु बताउँछन् ।

ठुला साना सवारीका साधनहरु तथा पैदल यात्रीहरु ओहोर दोहोर गर्ने सडक आसपासमा माछा मासु काटेर बिक्री गर्ने गर्दछन् । सडक छेउमा धुलो उड्ने, नालाको दुर्गन्ध आउने र झिंगा भन्केको ठाउँमा खुलेआम मासु बिक्री गर्दा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन् । सिन्धुलीमाढी बजार क्षेत्रमा मासु बिक्री गर्ने व्यवस्थीत बधशालाको निर्माण नभएका कारण खुल्ला स्थानमा नै मासु बिक्री गर्नु परेको मासु व्यवसायीहरु बताउँछन् ।

मासु खाने बानी भइसकेपछि खान मन लाग्ने र पाहुना आउँदा मासु नै लानुपर्ने हुन्छ । तर मासु लिन आउँदा भने, फोहर र धुलो उडेको देख्दा भने दिक्क लाग्ने बोध कुमार श्रेष्ठ बताउनुहुन्छ । मासुलाई घरमा लगि धोएर सफा गरि पकाउनु पर्ने बाध्यता रहेको उहाँ बताउँनुहुन्छ । यसलाई व्यवस्थित गर्न सरकारी तवरबाट व्यवस्थित बधशाला निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

व्यवसायिक रुपमा मासु व्यवसाय गर्ने व्यापारिहरुले निश्चित मापदण्ड पुरा नगरि मासु बिक्री गर्दा नागरिकहरुको स्वास्थ्यमा असर पर्ने गरि मासु बिक्री गर्दा सम्बन्धित निकायबाट कुनै प्रकारको कार्यवाही भएको छैन । सिन्धुलीमाढीमा खसि, कुखुरा, राँगा, बंगुर, माछा लगायतका मासु जन्य बिक्री हुँदै आईरहेको छ ।

बजारमा मासुपसल मापदण्डविपरीत सञ्चालित हँुदा उपभोक्ता गुणस्तरीय मासु उपभोग गर्नबाट वञ्चित भएका छन् । मासुपसल सञ्चालनका लागि सरकारले मापदण्ड निर्माण गरे पनि अधिकांशले पालना गरेका छैनन् । जसका कारण सिन्धुलीबासी गुणस्तरहीन मासु उपभोग गर्न बाध्य भइरहेका छन ।

प्रतिक्रिया