सोमवार, कार्तिक २३ गते २०८३

Monday 9th November 2026

बीपी राजमार्ग पुनः निर्माण नहुदाँ यात्रुलाई सास्ती

सोमवार , पौष २२, २०८१

सिन्धुली – बीपी राजमार्र्गमा यात्रा गर्ने यात्रुहरुले सधै सास्ती खेप्न बाध्य छन् । गत असोज १० देखि १२ गतेसम्म बाढीले क्षति पु¥याएका बिपी राजमार्गलाई अस्थायी रूपमा मर्मत सम्भार गरेर सञ्चालनमा ल्याइएको छ । बाढीले बढी क्षति पुर्‍याएको बीपी राजमार्ग मर्मत गरेर दुईतर्फी रूपमै यातायात सञ्चालन गरिएको छ । रोशि खोलाको किनारबाट बैकल्पिक सडक निर्माण गरि सवारी आवतजावत भइरहेको छ ।

राजमार्गमा यात्र गर्ने यात्रुले पनि सास्ती खेप्नु परेको गुनासो गरेका छन् । सिन्धुलीमाढीका सरोज न्यौपाने बीपी राजमार्गको यात्रा सकसपूर्ण रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राजमार्ग सबै भत्किएको छ । धुलोले सडकमा यात्रा गर्न मुस्कील छ । खोलाको किनारबाट बैकल्पीक बाटो भएकाले ठुलाठुला ढुंगा साथै ग्रेगरले सवारी चलाउनै मुस्कील हुन्छ ।”

राजमार्गको यात्रा सकसपूर्ण रहेको बीपी राजमार्गमा यात्रा गर्नुभएको मदन मोक्तानले बताउनुहुन्छ । राजमार्गका ठाउँठाउँमा सडक माथिबाट बेलाबेलामा ढुंगा, सुख्खा पहिरो झरिरहन्छ । नदि खोला किनारमा डाइभर्सन गरेर अस्थायी सडक निर्माण गरिएको छ । अस्थायी रुपमा निर्माण भएको सडकमा सुख्खा पहिरो र ढुंगा खसिरहने समस्या छ ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न करिब रु नौ अर्ब ६६ करोड रकम खर्च हुने अनुमान गरिएको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगसम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ ।

“अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, पर्खाल लगाउने भन्नेबारे छलफलपछि निष्कर्ष निकालिनेछ”, उहाँले भन्नुभयो । प्रमुख योगेशका अनुसार खोलाको बाढी आउन सक्ने ठाउँमा आरसिसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभियन वाल लगाउनुपर्ने अध्ययनले देखाएको छ ।

क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न स्रोत सुनिश्चितताको पर्खाइमा रहेको प्रमुख योगेश बताउनुहुन्छ । “सडकखण्ड पुनर्निर्माण गर्न गरिएको अध्ययनअनुसार लाग्ने लागतको स्रोत सुनिश्चित भएको छैन, दातृ निकाय तथा नेपाल सरकारबाटै स्रोत सुनिश्चित भएपछि ठेक्का खोल्ने प्रक्रियातिर लाग्छौँ”, उहाँले भन्नुभयो । राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो ।

उक्त राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग छलफल गर्नुभएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ । मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ । यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ । सचिव शर्मा आगामी फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ ।

पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा कठिनाइ ब्यहोर्नुपर्ने प्रमुख योगेशले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल स्रोत सुनिश्चित भएको भए काम सुरु गथ्र्यौँ, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन पनि सक्छ ।” उहाँका अनुसार पूर्ण रूपमा सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्छ ।

बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ छ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ । राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । जाइकाले उक्त राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो ।

प्रतिक्रिया