सिन्धुली – सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कडा कदम चाल्ने भएको छ । शुक्रबार सर्वपक्षीय भेला आयोजना गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न कदम चाल्ने जानकारी गराएको हो ।
पछिल्लो समय सवारी दुर्घटनाबाट ज्यान गुमाउने र अंगभंग हुनेहरु थपिँदै गएको भन्दै सवारी दुर्घटना न्यूनीकरण राष्ट्रिय विमर्शकै विषय भएको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लामा मालवाहक सवारीले यात्रु बोक्ने गरेको र यात्रुवाहक सवारीले मालसामान बोक्ने गरेको भन्दै त्यसलाई रोकेर कानुन अनुसार कार्य गर्न यातायात व्यवसायीलाई सुझाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले प्रयोजन र मापदण्ड अनुसारको काम मात्र गर्न व्यवसायीलाई अनुरोध गर्नु भएको छ ।
सरोकारवालाहरुको बैठकबाट सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमा भएका खाल्डाखुल्डी मर्मत गर्ने, सडकमा जथाभावी भएको तारपोल व्यवस्थापन गर्ने, मालवाहक र ठूला ट्रकलाई चोक तथा बजार क्षेत्रमा प्रवेश गर्दा व्यवस्थित गर्न लगाउने, रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न रोक लगाउने लगायतका निर्णय भएको र सोही अनुसार कार्यान्वयन गर्ने प्रहरीले जनाएको छ । प्रहरीले विपी राजमार्गमा सवारी चलाउने चालकले लागु पदार्थ सेवन गरेको पाइएकाले लागु पदार्थ र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कडा कारवाही गर्न सुरु गरिएको र त्यसलाई निरन्तरता दिने जनाएको छ ।
विपी यातायात प्रा.लि.का अध्यक्ष कान्छामान बलले नियम विपरीतका साधनलाई यात्रु बोक्न र्निाध छोडिएकाले दुर्घटना र अस्वस्थ प्रतिस्पर्धा बढेको बताउनुभयो । व्यवहारिकता भन्दै प्रयोजन विपरीतका र मापदण्ड विपरीतका सवारी चलेको भन्दै त्यस्तो कार्यलाई निराकरण गर्नुपर्ने उहाँले धारणा थियो । उहाँले सवारी चालकलाई खाना खुवाउने होटलमै लागु पदार्थ दिने कार्य भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।
बस जाने स्थानमा निजी नम्बर प्लेटको बोलेरोबाट यात्रु बोक्ने व्यवस्था हटाउन बस व्यवसायी दुर्गा तामाङले अनुरोध गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले सवारी दुर्घटना न्यूनीकरण गर्न राज्य संयन्त्र निर्मम भएर लाग्ने बताउनुभयो । चालककै कारण धेरै दुर्घटना भएकाले चालकलाई सचेतना कार्यक्रम गर्नुपर्ने उपस्थित सरोकारवालाहरुको भनाइ थियो ।