सोमवार, कार्तिक २३ गते २०८३

Monday 9th November 2026

सिन्धुलीमा करोडौ संरचना प्रयोगमा आउनसकेनन्

शुक्रवार , पौष १९, २०८१

सिन्धुली – सिन्धुलीमा बागमती प्रदेश सरकारले निर्माण गरेको करोडौँका संरचना प्रयोग विहिन भएको छ । प्रदेश सरकारले जिल्लामा निर्माण गरेको करोडौँ लगानीका योजनाहरू प्रयोग विहीन भएको हो । बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाबाट चार करोड ३८ लाख ९९ हजार बढी लागतमा कमलामाई नगरपालिका ३ स्थित ऐतिहासिक सिन्धुलीगढी परिसरमा रानी दरबार निर्माण भएको छ । तर दरबार निर्माण भएको लामो समय बित्दा पनि दरबार प्रयोगमा आउन सकेको छैन । तुल्सी÷एरिया जेभीले २०७७ पुस २१ गते निर्माणको लागि सम्झौता गरी २०७९ जेठ १६ गते निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको भए पनि समयमा निर्माण सम्पन्न नभएपछि म्याद थप गरेर रानी दरबारको पुनर्निर्माण सम्पन्न गरेको थियो । २०५२ सालमा माओवादीले सिन्धुलीगढीबाटै आन्दोलन सुरु गरेसँगै त्यहाँ सुरक्षाकर्मी बस्न छाडेपछि रानी दरबार संरक्षणको अभावमा भग्नावशेष भएको थियो । भग्नावशेष दरबारलाई बागमती प्रदेश सरकारले पुरानै शैलीमा निर्माण सम्पन्न गरिसकेको छ । तर निर्माण सम्पन्न गरिसकेको दरबार प्रयोग विहीन अवस्थामा छ ।

 

यस्तै, बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाले कमलामाई नगरपालिका वडा नम्बर ४ मा बनाएको भ्यु टावर प्रयोग विहीन छ । प्रदेश सरकारबाट भ्याट बाहेक १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयाँ लागतमा ड्रागन कन्स्ट्रक्सन प्रालिले टावर निर्माण गरेको हो । बागमती प्रदेश सरकारले जिल्लाको विकास गर्न पर्यटन कृषि, भौतिक पूर्वधार लगायतको क्षेत्रमा विशेष लगानी गरेको छ । सोही अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिद्ध बाबा मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भ्यु टावरबाट सिद्धबाबा मन्दिर परिसर र जिल्ला सदरमुकामको दृश्य हेर्नलाई सहज हुने भन्दै टावर बनाएको भए पनि प्रयोगमा आउन सकेको छैन । हालसम्म भ्यु टावर सञ्चालनमा नआउँदा टावरका झ्याल तथा सिसाहरू संरक्षणको अभावमा फुट्न थालेको छ । सिसा फुटाएर टावर भित्र अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयको गुनासो छ ।

 

बागमती प्रदेश सरकारको ७ करोड ४६ लाख बढी लागतमा सिन्धुलीको कमलामाई नगरपालिका ५ मा निर्माण भएको रंगशाला प्रयोग विहीन भएको छ । कमलामाई नगरपालिकामा खेल क्षेत्रलाई टेवा पुर्‍याउन बागमती प्रदेश सरकारकारले रंगशाला निर्माण गर्न थालेको हो । कमलामाई नगरपालिका वडा नम्बर ५ मा रंगशाला निर्माण भई नगरपालिकालाई प्रदेश सरकारले हस्तान्तरण गरिसकेको भएपनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । १६ सय जनाले एकै पटकमा खेल हेर्न मिल्ने गरी संरचना निर्माण गरेको भएपनि खेलमैदान निर्माण हुन नसक्दा रंगशाला प्रयोगमा आउन सकेको छैन । रंगशालामा हालसम्म ९ करोड बढी लगानी भइसकेको र थप लगानीको अभावमा निर्माण सम्पन्न हुन नसकेको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रप्रसाद ढकालले बताउनुभयो । वडा नम्बर ४ को अगुवाइमा रंगशाला आसपास सरसफाइ भएको र बजेट थपका लागि पहल गरी खेलकुदका लागि रंगशाला प्रयोगमा ल्याइने ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया