सिन्धुली– सिन्धुलीमा शनिबार फरक फरक दुर्घटनामा तीन बालक घाईते भएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका ५ स्थित मुल्कोटमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईजना बालकसहित चारजना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मोटरसाइकल र बस एकआपसमा ठक्कर खाँदा दुई बालकसहित चारजना घाईते भएका छन् । काठमाडौँबाट ओखलढुंगातर्फ जादै गरेको बा.५.ख २६३७ नम्बरको बसले खाना खान होटल तर्फ मोड्ने क्रममा काठमाडौँबाट ओखलढुंगा तर्फ जादै गरेको बा.प्र.०३–०३० प ८२७३ नम्बरको मोटराइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल चालक ओखलढुगाको सुनकोशी गाउँपालिका ३ का २३ वर्षिय आकाश राईको शरीरको बिभिन्न भागमा चोट लागि गम्भिर घाईते भएका थिए । त्यस्तै, मोटरसाइकलमा सवार ४२ वर्षिय रामकुमार राई, ८ वर्षिय मुनाल राई र ६ वर्षिय ईनाल राई सामान्य घाइते भएको डिएसपि दाहालले बताउनुभयो । घाईते चारजनालाई उपचारको लागी धुलीखेल तर्फ पठाईएकोमा चारैजना डिस्चार्ज भईसकेको सिन्धुली प्रहरीले जनाएको छ । बस चालकसहित बस र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, जिल्लाको दुधौली नगरपालिका दुधौली वडा नं.९ मा मोटरसाइकल र मिनी ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक बालकसहित चारजना मध्यम घाईते भएका छन् । रुदलचोकबाट मदनभण्डारी राजमार्ग तर्फ जादै गरेको स ११ प ४७१६ नम्बरको मोटरसाइकल र ठुलो लखनपुरबाट दुधौली तर्फ आउदै गरेकोे बा ४ ख ९१९८ नम्बरको मिनी ट्रक एक आपसमा ठाकिएको डिएसपि दाहालले बताउनुभयो । मोटरसाइकल ट्रकसँग ठक्कर खाई उछिट्टिएर मदनभण्डारी राजमार्गबाट दुधौली बजार तर्फ आउदै गरेको मधेश प्र.०३–००२ ह २४८२ नम्बरको अटोमा ठोकिएको डिएसपि दाहालले बताउनुभयो । अटो र मिनि ट्रकमा सवार कसैलाई चोट नलागेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा दुधौली नगरपालिका ८ का १९ वर्षिय मोटरसाइकल चालक रमेश चौहानको दुवै हात खुट्टा ढाडमा चोट लागेको छ । त्यस्तै, मोटरसाइकल पछाडी सवार २५ वर्षिय मनिषा चौहान, मनिषाको ८ वर्षिय छोरी प्रशंसा चौहान र दुधौली ७ की १६ वर्षिय तिजा अधिकारी मध्यम घाईते भएका छन् । घाईते चारैजनालाई उपचारकालागि काठमाडौँ रिफर गरिएको डिएसपि दाहालले बताउनुभयो ।