बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

चिकित्सकको सिफारिस बिनै सिन्धुलीमा औषधी बिक्री

आइतवार , भाद्र ३, २०८०

सिन्धुली – सिन्धुलीमा चिकित्सकको सिफारिसबिना नै औषधि बिक्री हुने गरेको पाइएको छ । स्थानीय सरकारले पालिकाभित्र सञ्चालन भएका मेडिकल तथा स्वास्थ्य संस्थाको अनुगमन, नियमन गर्ने अधिकार भए पनि हुन सकेको छैन ।

दुधौली नगरपालिका–१० का सिताराम भट्टराई दुधौली बजारको एक मेडिकलमा औषधि किन्न जानुभयो । उहाँले आफुलाई स्वास्थ्यमा देखा परेको लक्षण मेडिकल संचालकलाई बताएपछि सोही आधारमा उसले औषधि दियो । अहिले जिल्लामा दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका यस्तै धेरै औषधि पसलले जथाभावी औषधि दिने गरेका छन् ।

फार्मेसी नपढेको तथा औषधि ऐन् २०३५ मा उल्लेख गरिए बमोजिम योग्यता नपुगेका व्यक्तिले औषधि बेच्न नमिल्ने भए पनि सिन्धुली सदरमुकाम क्षेत्रका मेडिकल तथा फार्मेसीहरूले चिकित्सकको पुर्जाबिना नै औषधि बेचबिखन गरेको नागरिकको आरोप छ ।

गोलन्जोर गाउँपालिका–३ का पुष्कर बरालले पनि धेरै पटक मेडिकलमा गएर औषधि किनेर खानुभएको छ । उहाँका अनुसार चिकित्सकको पुर्जाबिना नै औषधि बिक्री हुने गरेको छ । औषधि ऐन् २०३५ को दफा १७ को उपदफा (१), (२), (३) र (४) मा स्पष्ट रूपमा औषधि बिक्री गर्न फर्मासिष्ट, फार्मेसी सहायक वा औषधि व्यावसायीको रोहवरमा अप्राविधिकले बेच्न पाउने भनिएको छ ।

तर स्थानीय तहहरुमा खुलेका औषधी पसलमा त्यो मापदण्डको पालना भएको छैन । दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसलले भारतीय औषधिहरू समेत बिक्री गर्ने गरेको सेवाग्राहीको गुनासो छ । स्थानीय तह क्षेत्रमा सञ्चालनमा आएका औषधि पसलको नियमन, अनुगमनको अधिकार स्थानीय सरकारलाई छ ।

स्थानीय सरकारले अधिकार प्राप्त गरेको भएपनि औषधी पसलहरुको अनुगमन र नियमन गर्न नसकिएको तिनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । आगामी दिनमै सबैपक्ष लागेर नागरिकमा पनि सचेतना फैलाउँदै ब्यस्थित गर्नुपर्ने उहाँको भनाई छ ।

जिल्ला स्तरको अनुगमन समितिले सदरमुकाममा औषधी पसलहरुको अनुगमन र नियमन गर्न अनुगमन गर्ने गरेको भएपनि स्थानीय तहहरुले ग्रामीण क्षेत्रका औषधी पसलहरुको अनुगमन नगर्दा उपभोक्ताहरु चिकित्सकको सल्लाह बिना नै औषधी प्रयोग गर्न बाध्य हुने गरेका छन ।

प्रतिक्रिया