बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

उत्कृष्ठ नतिजा ल्याउने भगवतीका पाँचजना विद्यार्थी सम्मानित

शनिवार , भाद्र २, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको भगवती अंग्रेजी आवासिय उच्च माध्यमिक विद्यालयले कक्षा १२ मा जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउने तीनजना छात्रासहित पाँचजनालाई शुक्रबार सम्मान गरेको छ । मंगलबारबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार भगवती विद्यालयका तीनजना छात्राले जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याएकोले सम्मान गरिएको विद्यालय संचालक समितिका अध्यक्ष सञ्जय दाहालले बताउनुभयो ।

भगवती विद्यालयका अन्जली कुमारी पण्डित, अप्सरा श्रेष्ठ र निश्चला खड्काले ३.७५ जिपिए सहित जिल्लाकै सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका हुन् । विद्यालयले जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउने तीनजना सहित ए प्लस ग्रेड ल्याउने सन्ध्या श्रेष्ठ र निर्जला कार्कीलाई नगद पुरस्कारसहित एक कार्यक्रमकाबिच सम्मान गरेको छ । विद्यालयले ए प्लस ग्रेड ल्याउने पाँचैजना छात्रालाई जनही २५ हजार रुपैँया नगद पुरस्कार सहित दोसल्ला र अबिर लगाई सम्मान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार उप्रेती, विद्यालय संचालक समितिका अध्यक्ष सञ्जय कुमार दाहाल, विद्यालयका वित्त निर्देशक रमाकान्त सुवेदी लगायत विद्यार्थी र अभिभावकको उपस्थितिमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक उप्रेतीले नीजि विद्यालयले नाफा कमाउने मात्रै उद्धेश्य राखेको हुन्छ भन्नु गलत रहेको बताउनुभयो । भगवतीले सामाजिक क्षेत्रमापनि योग्दान गरेको स्मरण गर्दै भगवती विद्यालयले शैक्षिक सामाग्री, विद्यालय पोशाक र झोला वितरणजस्ता कार्य गर्दै आएको प्रधानाध्यापक उप्रेतिले बताउनुभयो । उप्रेतिले भन्नुभयो, “हामीले संस्कार र गुणस्तरीय शिक्षा प्रदान गर्न सधैँ लागिरहेका छौँ । उत्कृष्ट नतिजा ल्याउने तथा जेहेन्दार छात्रछात्राहरुलाई नगद पुरस्कारले सम्मान गर्दै आएको छ ।”

अभिभावकहरुले महँगो शुल्क तिरेर काठमाडौँमा आफ्ना छोराछोरीलाई पढ्न पठाउने र फरक वातावरणमा छोराछोरीले भनेजस्तो नतिजा नल्याई अनेकन समस्या भोग्नुपर्ने तितो सत्य रहेको उप्रेतिले बताउनुभयो । “आफ्नै घरआँगनमा काठमाडौँ सरहको शिक्षा र नतिजा भगवतीले दिँदै आएको छ ”, उहाँले भन्नुभयो, “अभिभावकहरुले कम खर्चमा आफ्नै जिल्लामा आफ्ना बाबुनानीहरुलाई कक्षा १२ सम्मको शिक्षा दिन भगवतीलाई सम्झदा गल्ती हुदैँन ।” सुविधासम्पन्न क्षेत्रहरुमा रहेका विद्यालयहरुको तुलनामा दुरदराजमा रहेको भगवतीले संस्कारयुक्त गुणस्तरीय शिक्षामा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा विवेकशील आँखाहरुले मात्र पहिचान गर्न सक्ने भन्दै प्रधानाध्यापक उप्रेतीले सम्मानित विद्यार्थी, संलग्न शिक्षक लगायत विद्यालय परिवारलाई धन्यवाद दिनुभयो ।

छात्रासम्मान कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष सञ्जय दाहालले भगवती विद्यालय सिन्धुली सहित अन्य जिल्लामा समेत गुणस्तरीय र संस्कारयुक्त शिक्षा दिने शैक्षिक संस्थाको रुपमा चिनिएको बताउनुभयो । उहाँले गत वर्षको एसइई र कक्षा १२ को नतिजाले विद्यालयलाई अझ राम्रो गर्न नैतिक प्रोत्साहन मिलेको भन्दै उत्कुष्ट विद्यार्थी सम्मान कार्यक्रमले अरु विद्यार्थीहरुलाई पनि राम्रो गर्न उत्साह थप्ने बताउनुभयो । उहाँले भगवती विद्यालयको सफलताको भागिदार शिक्षक, अभिभावक लगायत जिल्लावासीइ रहेको बताउनुभयो । उहाँले कक्षा १२ उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरुलाई उच्च शिक्षाको सफलताको शुभकामना दिनुभएको थियो ।

भगवती विद्यालयबाट ३६ जना विद्यार्थी कक्षा १२ को परिक्षामा सहभागि थिए । उक्त विद्यालयबाट पाँचजनाले ए प्लस, १२ जनाले ए र ११ जनाले बि प्लस ग्रेड प्राप्त गरेको विद्यालयका शिक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया